जगदिश शाही
सुर्खेत । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ फलाटेस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा ५३ जना बालबालिकालाई न्यानो कपडा (हाइनेक) वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गरिएको छ।

विद्यालयका बाल क्लब अध्यक्ष जंगबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एसओएस बालग्राम सुर्खेतकी प्रतिनिधि सम्झना सुनार सहभागी थिइन्। विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रमलाई एसओएस बालग्राम सुर्खेतको सीएफई शिक्षा परियोजनाले आर्थिक सहयोग गरेको हो।
यसैबीच, एसओएस बालग्राम सुर्खेतको सीएफई शिक्षा परियोजनाले सुर्खेतका १० सामुदायिक विद्यालयसँग तीनवर्षे साझेदारी सम्झौता गरी शैक्षिक तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ। सम्झौताको दोस्रो वर्षमा प्रवेश गरेको परियोजनाबाट ती विद्यालयमा अध्ययनरत एक हजार ६ सयभन्दा बढी विद्यार्थी लाभान्वित भइरहेका छन्।
विद्यालयकी प्रधानाध्यापक तुलसीकुमारी भण्डारीका अनुसार परियोजनाले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी २० रुपैयाँका दरले दिवाखाजाको व्यवस्था गरेको छ। साथै विद्यालयहरूलाई शैक्षिक सामग्री, खेलकुद सामग्री, स्मार्ट टिभी, फर्निचर तथा कार्पेट उपलब्ध गराइएको छ। विद्यालय मर्मत, घेराबार, सुरक्षित खानेपानी र सरसफाइका सामग्रीमा समेत सहयोग हुँदै आएको छ।

परियोजनाले १० वटै विद्यालयका प्रधानाध्यापकलाई सहभागी गराएर घुम्ती बैठक सञ्चालन गर्दै आएको छ। बैठकमार्फत शिक्षण–सिकाइ सीप तथा विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धिसम्बन्धी तालिमसमेत प्रदान गरिँदै आएको भण्डारीले जानकारी दिइन्।
त्यस्तै, सबै १० विद्यालयका लागि इन्टर्न शिक्षक नियुक्त गरिसकिएको छ। नियुक्त शिक्षकहरू मंसिर ७ गतेदेखि सम्बन्धित विद्यालयमा हाजिर हुने कार्यक्रम रहेको छ। शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन शिक्षा प्रमुख गणेशप्रसाद सुवेदीबाट पनि आवश्यक सुझाव, सहजीकरण र सहयोग प्राप्त हुँदै आएको भण्डारीले बताइन्।
परियोजनाले विद्यार्थीको शिक्षासँगै अभिभावकको मनोसामाजिक अवस्था र आर्थिक सशक्तीकरणलाई समेत प्राथमिकतामा राखेको छ। एसओएसका डा. नामराज केसीमार्फत १० वटै विद्यालयका विद्यार्थीका अभिभावकलाई मनोसामाजिक परामर्श तथा शिक्षा प्रदान गरिएको छ। अभिभावकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले बाख्रापालन, मौसमी तरकारी खेती, सिलाइकटाइ, ब्युटिसियन, वायरिङ तथा प्लम्बिङसम्बन्धी तालिम र कार्यक्रम सञ्चालन गरिएको छ।

अन्तर्राष्ट्रिय बाल दिवस मनाउन परियोजनाले साझेदारीमा रहेका १० वटै विद्यालयलाई प्रतिविद्यालय १० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको छ। यसअनुसार बाल दिवसका कार्यक्रम सञ्चालन गर्न कुल एक लाख रुपैयाँ प्रदान गरिएको भण्डारीले जानकारी दिइन्।
शैक्षिक गुणस्तर सुधार, विद्यालयको भौतिक अवस्था सुदृढीकरण, बालबालिकाको सिकाइ र अभिभावकको जीविकोपार्जनलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यसहित परियोजनाका गतिविधि सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।