जगदिश शाही
सुर्खेत । कुनै समय सामाजिक सञ्जालमा चर्को आलोचना र प्रश्नको घेरामा परेका कर्णालीका विजय शाही अहिले भने आफ्नो असाधारण स्मरणशक्तिका कारण फेरि चर्चामा छन्। यसपटक उनको चर्चा आलोचनाभन्दा गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक मान्यताका कारण भइरहेको छ।
शाहीले एक मिनेटमा १५० वटा अंक सही क्रममै र कुनै त्रुटिबिना स्मरण गरेको उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्ड्सले आधिकारिक रूपमा सूचीकृत गरेको छ। गिनिजको विवरणअनुसार उनले २० नोभेम्बर २०२१ मा काठमाडौंमा ६० सेकेन्डमा १५० अंक स्मरण गरेका थिए। गिनिजले उक्त उपलब्धिलाई ‘एक मिनेटमा सबैभन्दा धेरै गैर-द्विआधारी अंक स्मरण’ विधामा राखेको छ। केवल ६० सेकेन्डमा १५० अंक हेरेर त्यसलाई सही क्रममा बिना गल्ती दोहोर्याउनु शाहीको असाधारण स्मरणशक्तिको प्रमाणका रूपमा देखिएको छ।
शाहीको यो उपलब्धि पहिलो भने होइन। यसअघि पनि उनी ‘अपवर्ड लोटस पोज’मा २७ मिनेट ३ सेकेन्ड बसेको उपलब्धिका कारण चर्चामा आएका थिए। कुनै समय सामाजिक सञ्जालमा आलोचना र व्यंग्यको सामना गरेका शाहीको नाम अहिले अन्तर्राष्ट्रिय स्तरको आधिकारिक अभिलेखमा समेटिएको छ। यसले विगतका बहसलाई भन्दा प्रमाणित उपलब्धिलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
हिजो प्रश्न बनेका विजय शाही, आज आफ्नै उपलब्धिले जवाफ दिइरहेका छन्। कर्णालीका विजय शाहीलाई सलाम आलोचना क्षणिक हुन सक्छ, उपलब्धि इतिहासमा रहन्छ। कर्णालीबाट विश्वस्तरमा आफ्नो क्षमता प्रस्तुत गरेका शाहीको असाधारण स्मरणशक्ति र निरन्तर प्रयासलाई सम्मान गर्नैपर्छ।