२०८३ साउन २९ , शुक्रबार

कर्णालीमा पदक विजेता खेलाडी सम्मानित



जगदिश शाही
सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न प्रतियोगितामा पदक जित्दै प्रदेशको नाम उच्च राख्ने खेलाडीहरूलाई सम्मान गरेको छ। मुख्यमन्त्री मङ्गलबहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

सोही क्रममा तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी निशान प्याकुरेललाई विभिन्न प्रतियोगितामा हासिल गरेको उपलब्धिका लागि कुल रु। १ लाख २० हजार नगद पुरस्कार प्रदान गरिएको छ।

प्याकुरेलले १३औँ कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगिताको जुनियर ४८ केजी तौल समूहमा स्वर्ण पदक जितेबापत रु। १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, १५औँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत ४८ केजी तौल समूहमा स्वर्ण पदक जितेबापत रु। २० हजार प्रोत्साहन रकम प्रदान गरिएको हो।

यसरी दुवै प्रतियोगितामा स्वर्ण पदक जितेका प्याकुरेलले कर्णाली प्रदेश खेलकुद विकास परिषद्बाट कुल रु। १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरेका हुन्।

खेलाडीहरूको उपलब्धिको सम्मान तथा उनीहरूको मनोबल बढाउने उद्देश्यले पुरस्कार वितरण गरिएको परिषद्ले जनाएको छ। प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्दा कर्णालीमा खेलकुदको विकाससँगै नयाँ पुस्तालाई समेत खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

तेक्वान्दोमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका प्याकुरेलको उपलब्धिले कर्णाली प्रदेशको खेलकुद क्षेत्रमा थप उत्साह पैदा गरेको छ। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा प्राप्त स्वर्ण पदकले प्रदेशको खेलकुद प्रतिभालाई समेत उजागर गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रबार