२०८३ भदौ ६ , शनिबार

विशेष शिक्षा स्नातकलाई रोजगारीको बाटो खोज्दै मध्यपश्चिम विश्वविद्यालय



जगदिश शाही
सुर्खेत । विशेष आवश्यकता शिक्षा अध्ययन गरेका स्नातकहरूका लागि रोजगारीका अवसर विस्तार गर्ने विषयमा मध्यपश्चिम विश्वविद्यालय र दक्षिण कोरियास्थित लुपिक परियोजनाबीच छलफल भएको छ।

वीरेन्द्रनगरमा आयोजित छलफलमा विशेष आवश्यकता शिक्षा कार्यक्रमका स्नातकहरूको रोजगारीको अवस्था, सम्भावित रोजगारीका क्षेत्र तथा रोजगारी सिर्जनाका उपायबारे छलफल गरिएको हो।विश्वविद्यालयका उपकुलपति सह–प्रा। ई। डा। राजन सुवालले “विशेष आवश्यकता शिक्षा अध्ययन गरेका विद्यार्थीको सीप र योग्यताअनुसार रोजगारीका अवसर सिर्जना गर्न विश्वविद्यालयले पहल गर्ने बताउनुभयो।

लुपिक परियोजनाका निर्देशक प्रा। डा। डाए योङ जङले विशेष आवश्यकता शिक्षा कार्यक्रमको विकास र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा। डा। अर्जुनबहादुर अयडी, ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन सह–प्रा। डा। आनन्द प्रसाद सुवेदीलगायत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा लुपिक परियोजनाका अधिकारीहरूको सहभागिता थियो।

छलफलमा आगामी दिनमा विश्वविद्यालय र लुपिक परियोजनाबीच शैक्षिक, प्राविधिक तथा रोजगारीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा समेत छलफल भएको विश्वविद्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार