२०८२ माघ ३ , शनिबार

विभागीय मन्त्रीका स्वकीय नै खेलकुद परिषद्काे सदस्य सचिवकाे प्रतिस्पर्धामा




कुलेन्द्र शाही, सुर्खेत।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनोटका लागि प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक गरेको छ। बुधबार मन्त्रालयले सूचना जारी गर्दै शैक्षिक योग्यता, अनुभव तथा कार्ययोजनाको मूल्यांकनका आधारमा छनोट भएका १० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।

सूचनाअनुसार छनोटमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता माघ ३ गते शनिबार बिहान ११ बजे सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा सञ्चालन हुनेछ। मन्त्रालयका अनुसार सदस्य सचिव छनोट पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले प्रारम्भिक योग्यताक्रम सार्वजनिक गरिएको हो। यस पदका लागि मन्त्रालयले सार्वजनिक विज्ञापन गरेकोमा कुल २१ जनाले आवेदन दिएका थिए।

मन्त्रीकै स्वकीय सचिव प्रतिस्पर्धामा
मन्त्रालयले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनोटका लागि प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक गरेसँगै छनोट प्रक्रियाको निष्पक्षता र पारदर्शितामा प्रश्न उठ्न थालेको छ। मन्त्रालयले जारी गरेको सूचनामा छनोट प्रक्रियालाई खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउन प्रारम्भिक योग्यताक्रम सार्वजनिक गरिएको जनाएको छ।

तर, प्रारम्भिक योग्यताक्रममा विभागीय मन्त्रीकै स्वकीय सचिवको नाम परेपछि प्रक्रियाको निष्पक्षतामाथि गम्भीर शंका उत्पन्न भएको छ। मन्त्री घनश्याम भण्डारीका स्वकीय सचिव पवनकुमार थापा प्रारम्भिक सूचीको छैटौं स्थानमा परेका छन्। मन्त्रालयद्वारा जारी गरिएको सूचनामा समावेश १० जनामध्ये थापाको नाम पनि उल्लेख गरिएको छ।

स्रोतका अनुसार पवनकुमार थापा मन्त्री भण्डारीका भान्जा समेत हुन्। उनी दैलेख जिल्लाको दुल्लु नगरपालिका–८ का स्थायी बासिन्दा हुन्। संयोगवश मन्त्री भण्डारीको स्थायी ठेगाना पनि दैलेख नै रहेको छ। साथै थापा नेपाली कांग्रेस पार्टी क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर-२ दैलेखका क्षेत्रीय कोषाध्यक्ष समेत हुन्। पारिवारिक नाता र प्रत्यक्ष कार्यसम्बन्ध रहेका व्यक्तिको नाम प्रतिस्पर्धात्मक प्रक्रियामा अगाडि बढेपछि स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) को विषय उठाइएको छ।

खेलकुद क्षेत्रसँग प्रत्यक्ष सरोकार र विज्ञता आवश्यक पर्ने प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव जस्तो महत्वपूर्ण पदमा खेलकुद पृष्ठभूमि स्पष्ट नभएका तथा राजनीतिक पहुँच र मन्त्रीसँगको निकट सम्बन्धकै कारण थापालाई प्रारम्भिक योग्यताक्रममा समावेश गरिएकोप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन्। यता मन्त्री भण्डारीले थापा आफ्नो स्वकीय सचिव भएको बताउँदै यसमा आफूले छनोट गर्नु भनेर नभनेको दाबी गरे।

उनले मन्त्रीको स्वकीय सचिव हुँदैमा आवेदन दिन नमिल्ने भन्ने नहुने तर्क नगर्न आग्रह गरे। ‘ उहाँ मेरो स्वकीय सचिव हुनुहुन्छ।यसमा हुनुहुन्न भन्न त भएन तर । मन्त्रीको स्वकीय सचिव भयो भन्दैमा आवेदन नै नदिने भन्ने त हुन्नहोला ।’ उनले खबरदृष्टिसंग भने,’उहाँ अन्तिममा छनोट हुनुहुन्छ कि नाई भन्ने हो। अझै उहाँले अन्तरवार्ता पनि नदिन सक्नुहुन्छ।,’

प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार