२०८३ भदौ ४ , बिहीबार

बलिदानबाट जन्मिएको कर्णालीले मनायो १२औँ स्थापना दिवस



जगदिश शाही
सुर्खेत | लामो आन्दोलन र सहितहरुको बलिदानबाट छुट्टै प्रदेशको पहिचान बनाएको कर्णालीले बिहीबार १२औँ स्थापना दिवस मनाएको छ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीलाई सधैँ समस्याग्रस्त प्रदेशका रूपमा हेर्ने सोच बदल्नुपर्ने बताए। पर्याप्त सम्भावना हुँदाहुँदै राज्यको उपेक्षाका कारण कर्णाली पछाडि परेको भन्दै उनले दैलेखमा पुष्टि भएको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको उत्खनन तत्काल अघि बढाउन संघीय सरकारसँग आग्रह गरे। कर्णालीका प्राकृतिक स्रोतको सदुपयोग गर्न सके प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिने उनको भनाइ थियो।

पूर्वमुख्यमन्त्री यामलाल कँडेलले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जेन–जी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापन र शासन सञ्चालन प्रभावकारी बनाउनुपर्ने बताए। मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीको वास्तविक अवस्था बदल्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै समृद्धिका लागि सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

२०७२ साल भदौ २३ गते ६ प्रदेशको सीमाङ्कनसहित संघीयताको खाका सार्वजनिक भएपछि त्यसको विरोधमा कर्णालीमा आन्दोलन चर्किएको थियो। छुट्टै प्रदेशको माग गर्दै भएको आन्दोलनमा चार जनाले ज्यान गुमाएका थिए। उनीहरूको सम्झनामा कर्णाली सरकारले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।१२ वर्ष पूरा गरेको कर्णालीका लागि स्थापना दिवस विगतको संघर्ष र बलिदान सम्झने मात्र नभई जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी तथा खनिजजस्ता सम्भावनालाई उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्ने संकल्पको अवसरसमेत बनेको छ।

स्थापना दिवसका अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको थियो।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार