सुर्खेत । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र रुकुम पश्चिम घर भई हाल कोहलपुर नगरपालिका–६ मा बस्दै आएका ६० वर्षीय टोपजङ गिरी रहेका छन्।
विशेष सूचनाका आधारमा प्रहरीले कोहलपुर–११ चौराह नजिकबाट बुढालाई १ किलो अफिमसहित पक्राउ गरेको थियो। त्यसपछि बुढासँग सोधपुछ गर्दा प्राप्त जानकारीका आधारमा प्रहरीले गिरीको डेरा कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा फ्रिजभित्र लुकाएर राखिएको १३ किलो ७६० ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ। यसरी प्रहरीले दुवै जनाबाट जम्मा १४ किलो ७६० ग्राम अफिम बरामद गरेको हो। प्रहरीले अप्रेसनका क्रममा एक राउण्ड हवाई फायरसमेत गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।