
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको छ । वीरगंजस्थित नारायाणी क्रिकेट मैदानमा सोमबार भएको खेलमा २६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १३० रनमा अलआउट भएको हो । जारी प्रतियोगितामा आर्मीको यो पाँचौं जित हो ।
कर्णालीका लागि विपिन शाहीले ४० र अर्जुन घर्तीले ३२ रन बनाए । दीपेन्द्र रावतले २५ र सुनिल धमलाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । आर्मीका लागि साहाब आलम र बसिर अहमदले ३–३ विकेट लिए । आकाश चन्दले २ तथा दुर्गेश गुप्ता र नरेन साउदले १–१ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको आर्मी ४८ ओभरमा २६८ रनमा अलआउट भएको हो ।
आर्मीका लागि अर्जुन साउदले शतकीय पारी खेले । उनले १२० बलमा १० चौका र ३ छक्का प्रहार गर्दै १२१ रनको योगदान गरे । बसिर अहमदले ४५ रन बनाए । कर्णालीका लागि दिनेश अधिकारीले ४ विकेट लिए । प्रकाश जैसीले ३ तथा दिपेन्द्र रावत, राज शाह र विपिन शर्माले १–१ विकेट लिए ।