जगदिश शाही
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट नियुक्त भएका तीन जना मन्त्रीले बुधबार प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नवनियुक्त मन्त्रीहरूमा टेकराज पछाई आर्थिक मामिला तथा योजना मन्त्री, जीतबहादुर मल्ल सामाजिक विकास मन्त्री र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्। प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम तीनै जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै एमालेका तीन सांसदलाई सरकारमा सहभागी गराएका हुन्। मन्त्रालय बाँडफाँटमा लामो समयदेखि सहमति हुन नसक्दा सरकार गठन भएको केही समयसम्म मुख्यमन्त्री शाहीले नै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
जुम्लाका टेकराज पछाई, मुगुका जीतबहादुर मल्ल र हुम्लाका कलबहादुर हमाललाई क्रमशः आर्थिक मामिला तथा योजना, सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।नवनियुक्त मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमार्फत कर्णालीको आर्थिक विकास, सामाजिक क्षेत्रको सुधार तथा जलस्रोत र ऊर्जा विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
कर्णाली सरकारमा एमालेको प्रवेशसँगै मन्त्रिपरिषद्ले थप पूर्णता पाएको छ। सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।