भेरी पम्पिङको गाँठो फुक्यो, वैशाखदेखि निर्माण आरम्भ

खबरदृष्टि सम्वाददाता ८ आश्विन २०८०, सोमबार २१:३६

सुर्खेत । हाल वीरेन्द्रनगरमा वितरण गरिँदै आएको झुप्रा खोला, खरी–बोरी खोलालगायतको पानी अपुग भएपछि भेरी पम्पिङ आयोजना अघि सारिएको छ । भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने लामो प्रयास अन्ततः सफल भएको छ । लामो अन्यौलताका बिच भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने प्रयासले गति लिन आवश्यक सबै प्रक्रिया पूरा गरिएको हो ।

विश्वबैंकको लगानीमा निर्माण गर्न लागिएको बहुप्रतिक्षित भेरी लिफ्ट खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतसँगै टेण्डर गर्ने निर्णय गरिएको छ । भेरी नदीको पानी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको आयोजना कार्यान्वयन समितिको बैठकले तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन स्वीकार गरेर लागत अनुमान र बोलपत्र सम्बन्धी कागजातहरू स्वीकृत गरेको छ । योसँगै अब भेरी लिफ्टीङ आयोजनाको कामको थालनी आगामी वैशाखसम्म हुनेछ । ‘भेरी लिफ्टीङ बन्दैन कि भन्ने धेरैमा शङ्का थियो । हामीले सबै प्रक्रिया पूरा गरेर निर्माणको थालनी गर्दैछौं,’ नगर प्रमुख ढकालले भनिन्, ‘टेण्डर आह्वानका लागि धेरै प्रक्रिया पूरा गर्नु थियो त्यो चरण पनि सकिएको छ । अहिलेलाई पहिलो चरणको काम अघि बढाउन लागेका छौँ ।’

भेरी लिफ्टीङका लागि लगानी सुनिश्चित २०७९ असार २९ गते भएको थियो । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैङ्कले सबै ठिक रहेको प्रतिक्रिया दिएपछि पहिलो चरणको काम सुरु गर्न लागिएको छ । यो आयोजनाको सबै अपनत्व वीरेन्द्रनगर नगरपालिकाको रहनेछ । आयोजनाको पहिलो प्याकेज अन्तरगत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, प्रसारण लाइन, रिजर्भ ट्याङ्कीलगायतको काम गर्न लागिएको ढकालको भनाई छ ।

सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा सङ्घीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठुलो लगानीमा भेरी लिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । प्रदेशकै ठुलो नगरपालिकाको रूपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यसहित भेरी नदीबाट खानेपानी लिफ्टिङ्ग गरेर वीरेन्द्रनगर ल्याउन लागिएको छ ।

बजेट सुनिश्चित भइसकेको आयोजनाको निर्माणको यसै वर्षबाट सुरु हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । टेण्डर आह्वानपछि प्रक्रियागत रूपमा जान अझै ७ देखि ८ महिना लाग्ने उनी बताउँछन् । यसै आर्थिक वर्षबाट निर्माण सुरु गर्न लागिएको आयोजना आगामी तीन वर्षमा सक्ने लक्ष्य छ । भेरी नदीको सतहदेखि करिब सात मिटर गहिरो दुई वटा इन्टेक निर्माण गरिनेछ ।

नदीदेखि चार सय मिटर उचाइमा प्रशोधन ट्याङ्कीमा खसालिने र करिब सात किलोमिटर लामो पाइपका माध्यमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ  । त्यसपछि मात्रै उपत्यकावासीका घरघरमा पानी वितरण गरिनेछ । करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगरको २० प्रतिशत लगानी रहनेछ ।

प्रदेश सरकार पाँच करोड रुपैयाँ विनियोजन गरेको छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँच मार्गसहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । वीरेन्द्रनगरको खानेपानी सङ्कट समाधान गर्न दीर्घकालीन स्रोतको रुपमा भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम देखिएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।

हाल वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दैनिक तीन सय बीस लिटर प्रतिसेकण्ड पानीको माग छ । तर सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रतिसेकेन्ड एक सय त्रिपन्न लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजार बढी घरधुरीलाई खानेपानी दिन सकेको छैन ।

Next Post

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना : २५ यात्रु घाइते

८ आश्विन २०८०, सोमबार २१:३६
सुर्खेत । काठमाडौंबाट सुर्खेत आउँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको बस आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा २५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031