२०८३ वैशाख १७ , बिहीबार

कर्णाली एक्सपो (महोत्सव) सञ्चालनको बाटो खुल्यो



सुर्खेत । धेरै विवादित र चर्चा भएको तेस्रो कर्णाली एक्सपो सञ्चालनको विषयमा देखिएको विवाद निक्र्यौल भएको छ । महोत्सव सञ्चालका बारेमा यसअघि उच्च अदालतत सुर्खेतमा परेको रिटमा अदालतले सोमबार दिएको आदेशपछि एक्सपो सञ्चालनको बाटो खुलेको हो ।

अदालतको आदेशले कर्णाली एक्सपो सञ्चालन गर्ने बाटो खुलेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिए । सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुनबमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको उनले बताए ।

‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानुन बमोजिम गर्नू ।’ आदेशमा भनिएको छ ।

यसअघि अधिवक्ता प्रकाशबाबु ऐडीले वीरेन्द्रनगर नगरपालिकालाई विपक्षी बनाएर तेस्रो कर्णाली एक्सपो–२०८० सञ्चालन नगर्न अन्तरिम आदेश माग गर्दै रिट हालेका थिए । उक्त रिटमा फागुन ११ गते उच्च अदालतले महोत्सव रोक्न अल्पकालिन आदेश जारी गरेको थियो ।

यी समाचार पनि हेर्नुहाेस्- ‘कर्णाली एक्सपो’ (महोत्सव) नचलाउन अदालतको अन्तरिम, आदेश कर्णाली एक्सपो (महोत्सव) को मिति स¥यो, सुर्खेत उद्योग वाणिज्य संघले लगाउने महोत्सवमा अनियमितताको आशंका !

सोमबारको ईजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरु दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीता कुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए ।

रिट निवेदनमा विपक्षी बनाईएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुबकुमार श्रेष्ठ र उत्तमप्रसाद आचार्यले बहस गरेका थिए ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार