कुलेन्द्र शाही, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आगामी माघ २६ गतेदेखि फागुन ५ गते महोत्सव लगाउने तयारी गरेको महोत्सव विवादमा परेको छ । महोत्सव लगाउने समय आउँन अझै एक महिना बाँकी रहँदा महोत्सव लगाउने विषयलाई लिएर सामाजिक सञ्चालमा चर्को टिप्पणी र आलोचना भैरहेको छ ।
गत पुस २० गते उद्योग वाणिज्य सुर्खेतले कर्णाली एक्सपो २०८० व्यवस्थापन साँझेदारी गर्ने आसयपत्र सम्बन्धी एक सूचना जारी गरेको थियो । उक्त सूचना जारी भएपनि महोत्सवको लागि नगरपालिकाले मिलेमतोमा पुस २२ गतेको मितिमा वाणिज्यलाई दिने निर्णय गरेको छ ।
नगरपालिकासँग भित्रभित्रै सेटिङ्मा वाणिज्य संघले सुचना जारी गरेको आलोचकहरुको भनाइ छ । संघले लगाउने महोत्सवमा वाणिज्य संघ र नगरपालिकाको मिलेमतो भएको समेत धेरैको आशंका छ ।

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता मध्येका एक पूर्णदेव अधिकारीले लेखेका छन् – ‘सुर्खेत उद्योग वाणिज्य संघले मेलाको आयोजना गर्दैछ । लाखौं रुपैयाँको कारोबार हुने काममा ५ दिनको आन्तरिक सूचना जारी गरेर कम मुल्यलाई काम दिनु, नगरपालिकाले २२ गते निर्णय गर्ने २० गते नै सूचना जारी गर्ने, यता प्रदेशको रमिता २६ गतेको प्राप्त मितिका सम्बन्धमा १८ गते नै सहमति दिनु ! मिलेमतोको पनि हद हुन्छ नि ! विधि पद्धति नियम कानुन सबै मान्नेलाइ मात्रै त रहेछ ! ’
अधिकारीले खबरदृष्टिसँग कुराकानी गर्दै वाणिज्य संघले गलत कार्य गरेको बताए । उनले लाखौँ कारोवार हुने ठाउँमा वाणिज्य संघले अरुलाई यसरी ठेक्का दिनु गलत कार्य भएको बताए । अधिकारीले वाणिज्य संघले पारदर्शिता रुपमा काम नगरेको बताउँदै बढि कवोल गर्ने भन्दा कम बोलकवोल गर्नेलाई काम दिन लागेको आरोप लगाए ।

कर्णाली एक्सपो, २०८० सञ्चालनका लागि मूल आयोजक बनेको सुर्खेत उद्योग वाणिज्य संघले प्रतिस्पर्धीलाई बेवास्ता गरेर आफूखुसी आशयपत्र स्वीकृत गरेको अर्को आरोप खेपेको छ । इमेल र प्रत्यक्ष गरी ६ वटा आशयपत्र संघलाई प्राप्त भएकोमध्ये सबैभन्दा कम रकम कबोल गरिएको आशय पत्र ५० लाख थियो भने बढी कबोल गरिएको ८१ लाख ५० हजार ५ सय ५५ रुपैयाँको थियो ।
आयोजक उद्योग बाणिज्य संघले भने ६१ लाख रुपैयाँ कबोल गरेको आशय पत्रलाई छनोट गर्यो । हेटौँडाको कम्पनी ओम शक्ति मूर्ति इभेन्ट एन्ड म्यानेजमेन्टले ६० लाख ६ हजार ६ सय ६६ रुपैयाँ ६६ पैसा कबोल गरेर आशयपत्र पेस गरेको भएपनि उक्त फर्मलाई आशयपत्रमा एक लाख रुपैयाँ बढाएर छनोट गरिएको छ ।
आशयपत्र आह्वान गरेपछि बाँकेको एजी सर्भिस प्रालिले ८१ लाख ५० हजार ५ सय ५५ रुपैयाँ कबोल गरेर आशयपत्र दिएपनि उक्त कम्पनीलाई भने छनोट गरिएन ।यता, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले नियमसम्मत नै महोत्सव लगाउन लागेको र सोहीअनुसार साँझेदारी गर्ने आशय पत्र सम्बन्धी सूचना जारी भई छनौट समेत भैसकेको जानकारी दिए।
उनले महोत्सव ठेक्कामा दिन लागेको घुमाउरो भाषामा स्वीकार गरे । खबरदृष्टिसँग कुरा गर्दै आफुहरुले महोत्सवको ठेक्का दिन लागेको नभई पार्टनर बनाउन लागेको बताए । ‘नगरपालिकाले जतिबेला पनि सिफरिस दिन सक्छ, यसमा केही गलत छैन्, महोत्सव लाग्ने अघिल्लो दिनमा पनि त नगरपालिकाले सिफारिस दिन सक्छ, यदी सिफारिस नदिएरै महोत्सव लगाउने तयारी गरेको भए भन्नु,’ उनले भने ।
अध्यक्ष कँडेलले आफु सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी गर्नेहरुको पछि नलागी महोत्सवको तयारीमा जुट्ने बताए। यो समाचार सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।