२०८२ माघ १७ , शनिबार
रेडियो भेरी २० बर्षमा

आफुसंगै पढेको साथी मुख्यमन्त्री बनेकाेमा खुसी छु: सांसद थानी



सुर्खेत । प्रतिनिधि सभाका सदस्य हृदयराम थानीले वीरेन्द्रनगर स्थायी घर भएको र आफुसंगै पढेको साथी कर्णाली प्रदेशको मुख्यमन्त्री बन्दा आफुलाई धेरै खुसी लागेको वताएका छन्।

रेडियो भेरी एफएफको २० औं बार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित शुभकामना कार्यक्रमलाई संवोधन गर्दै कांग्रेस नेता थानीले प्रदेश स्थापना भएको लामोसमयपछि पहिलोपटक सुर्खेतले मुख्यमन्त्री पाएकोमा खुसी व्यक्त गरे।

थानीले मुख्यमन्त्री यमलाल कँडेलसंगको मित्रतालाई अझै दरिलो बनाउदै लग्ने संकेत गर्दै कार्यकालको बचेको साढे तीन बर्षको समयभित्रै मिलेर एयरपोर्ट बनाईसक्ने वताए। अहिलेको रनवेमा ३ सय मिटर जति थपे विमानहरु सहज अवतरण हुने र फोर्स लेण्डिङको रिस्क घट्ने ठोकुवा गरे। आफु वीरेन्द्रनगर वाहेक अन्यत्र बन्ने एयरपोर्टको वाधक नरहेको भन्दै पहिला वीरेन्द्रनगरको रनवे थप्नुपर्नेमा जोड दिए।
अरु प्रदेशको स्थापना सहजरूपमा भएको र कर्णाली प्रदेश जनताको बलमा स्थापना भएको वताए। तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका सबै जिल्लाहरुलाई समेटेर एउटा सशक्त प्रदेशको निर्माण गर्ने चाहना भएपनि बाँके, बर्दिया र दाङले त्यो प्रस्ताव नमानेको उनको भनाइ छ।

उनीहरू कर्णाली प्रदेशमा गाभिन नमानेपछि १० वटा जिल्लासमेटेर एउटा प्रदेश बनाईएको जानकारी दिए। आफुहरुले अहिलेकै परिस्थिति ल्याउनका लागि राजनीति नगरेको भन्दै राणाकालमा लाखमा हुने गरेको भ्रष्टाचार गणतन्त्रकालमा खर्ब नाघेको वताए। ूराणा शासनमा लाख खाए, पंचायत कालमा करोडमा पुगेको भ्रष्टाचारको सीमा बहुदलीय व्यवस्थाको स्थापना पछि अरबमा पुगेको थियो। गणतन्त्रमा त झन एउटै एनसेलमा १ खर्ब ४३ अरव,ू देशको परिस्थिति प्रती दिग्दारी व्यक्त गर्दै थानीले भने।

देशमा व्याप्त विकृति र विसंगति प्रती असन्तुष्टी जनाउँदै थानीले यसको विरोध गरे पद नपाएर विरोध गरेको भन्ने आरोपको सामना गर्नुपर्ने वताए। नबोली बसौ केही गर्नै सक्दैन भन्छन, बोलौ पद नपाएर बोल्छ भन्छन, उनले गुनासो व्यक्त गर्दै भने। गणतन्त्र स्थापना पछि देशको सिस्टम झनै खराब भएको भन्दै न्यायालय, अख्तियार, प्रहरी प्रशासन लगायत राज्यका सबै अंगहरु भ्रष्ट व्यक्तिहरुको चंगुलमा गैसकेको उनको भनाइ छ। संवैधानिक अंगहरुमा स्वच्छ र निष्पक्ष व्यक्ति जानुपर्नेमा राजनीति दलहरूले कार्यकर्ता मात्रै भर्ती गरेको उनले गम्भीर आरोप लगाए। वर्तमानको भद्रगोल अवस्था सुधार गर्न राजनीतिले नसकिरहेको वेला पत्रकारीता क्षेत्रले खवरदारी गर्नुपर्नेमा उनले जोड दिए। आलोचनाबाट कोही पनि भाग्न नहुने भन्दै थानीले आफ्नोबारेमा सकेसम्म आलोचना गर्न आग्रह गरे।

शुभकामना दिदै नागरिक अगुवा पिताम्वर ढकालले जनतालाई सुसूचित गर्न भेरी एफएमले अग्रणी भूमिका खेलेको वताए। उनले एफएमका कार्यक्रमहरुलाई समसामयिक बनाउनु पर्नेमा जोड दिए। सुर्खेतका अन्य रेडियोहरु भन्दा भेरी एफएमको स्तर माथिल्लो भएको उनको भनाइ थियो।
कार्यक्रममा रेडियोमा उत्कृष्ट कार्य र योगदान गरेको भन्दै रेडियो भेरी सुर्खेतका समाचार प्रमुख केशव ढकाललाई सम्मान गरिएको थियो। अन्य तीनजना विज्ञापनदाताहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित वसेल, सुर्खेत चेम्बरका अध्यक्ष चिन्तामणि शर्मा, सुर्खेत उद्योग वाणिज्य संघका भद्र भण्डारी, उपप्राध्यापक अर्जुन ऐडी, काक्रेविहार दैनिकका सुशील शर्मा, प्रेस चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्री, उप प्राध्यापक युवराज शर्मा, भानु अधिकारीलगायतले शुभकामना दिएका थिए। कार्यक्रम रेडियोका अध्यक्ष नारायण कोईरालाको अध्यक्षतामा भएको थियो।

प्रकाशित मिति : २०८१ वैशाख १५ गते शनिबार