
सुर्खेत । जाजरकोटमा वर्षातका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काडागाउँमा शुक्रबार (आज) बिहान १ बजेतिर स्थानीय पदम अधिकारीको घर भत्किँदा ८ जना घाइते भएका हुन् ।
घाइते हुनेमा छेडागाड नगरपालिका–१२ काडागाउँका बस्ने वर्ष ३५ का पदम अधिकारी, वर्ष १० का दिनेश अधिकारी, वर्ष ३० की सरिता अधिकारी, वर्ष १४ का नविन अधिकारी, वर्ष ६५ की भिरकुली अधिकारी, वर्ष १५ की सुजता अधिकारी, वर्ष १६ की संगिता अधिकारी र वर्ष १४ वका नवराज अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घाइते भएकी सुजताबाहेक अरु सबै एउटै परिवारको भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले खबरदृष्टिलाई जानकारी दिए । ‘वर्षातले घर भत्किँदा ८ जना घाइते छन्, ८ जनामा सुजता छिमेकीको छोरी हुन् र अरु सबै एउटै परिवारका हुन् ।’ डिएसपी पाण्डेले भने ।’
उनकाअनुसार घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरु घरमै रहेका छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ । यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।