२०८३ जेठ २६ , मंगलबार

कर्णाली सरकारमा काँग्रेसको इन्ट्री : मन्त्रीहरु सबै नयाँ अनुहार



कुलेन्द्र शाही, सुर्खेत

कर्णाली सरकारमा करिब ५ महिनापछि पुनः नेपाली काँग्रेसको इन्ट्री भएको छ । गत फागुन २२ मा काँग्रेसका तीन मन्त्रीले राजीनामा बुझाएका थिए । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले संयुक्त रूपमा राजीनामा बुझाएपछि नेपाली काँग्रेस प्रतिपक्षमा थियो ।

केन्द्रको सत्ता समिकरणपछि कर्णालीमा ५ महिनापछि एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलको नेतृत्व सरकारमा काँग्रेस सहभागि भएको हो । यो सँगै मुख्यमन्त्री कँडेलले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट चार जना मन्त्रीहरू नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।

८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी नियुक्त भएका छन् । चार जना मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् ।

यसअघि मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह छन् । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विकलाई नियुक्त गरेका थिए ।

०८० चैत्र २७ गते माओवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले अहिलेसम्म तीन पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिएका उनले सोमबार दोस्रो पटक संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णालीमा पहिलो पटक माओवादी प्रतिपक्षमा पुगेको छ । संघीयतापछि माओवादी निरन्तर सत्तामा रहँदै आएको थियो ।

मन्त्रीहरु सबै नयाँ अनुहार 
कर्णालीमा प्रदेश सरकारमा नयाँ अनुहारले प्रवेश पाएका छन् । केन्द्रमा कांग्रेस–एमालेको सत्ता समीकरण बनेपछि सरकारमा पुनरागमन भएको कांग्रेसले प्रदेश सरकारमा सबै नयाँ अनुहार पठाएको छ । यसअघि पनि मन्त्रीका लागि दौडधुप गरेर पनि मन्त्री बन्न नसकेका प्रदेश सांसद राजीवबिक्रम शाह अहिलेको गठबन्धन सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । उनकै नेतृत्वमा काँग्रेसले मन्त्रीहरुको नाम पठाएको हो ।

ललितपुरमा जन्मेका शाहको अहिले स्थायी ठेगाना जाजरकोटको शिवालय गाउँपालिका वडा नं.९ हो । उनलाई प्रायः समाजसेवी र आर्थिक सम्पन्न व्यीक्तका रूपमा चिन्ने गरिन्छ । स्नातकसम्मको अध्ययन पुरा गरेका शाहीले १ दर्जनभन्दा बढी देशहरूमा भ्रमण गरेका छन् । उनको राजनीतिक पृष्ठभूमि खासै लामो भने छैन । उनी २०७० मा जाजरकोट जिल्ला निर्वाचन क्षेत्र–२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । अहिले पार्टीको केन्द्रीय सदस्य रहेका उनी खेलतर्फ पनि अग्रसर छन् ।

 

सामाजिक विकास मन्त्री बनेका घनश्याम भण्डारी पूर्व पत्रकार हुन् । दुल्लु नगरपालिका वडा नं. ८, मा २०४० असार १४ गते जन्मिएका भण्डारी २०५६ सालमा नेविसंघको रत्नराज्य लक्ष्मी क्याम्पसको इकाई सचिव भए । उनी कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियन दैलेखको संस्थापक सभापति समेत हुन् । यस्तै पत्रकार महासंघको जिल्ला सचिव समेत बनेका भण्डारी पछिल्लो समय दैलेखमा देउवा पक्षको बागडोर समाल्ने नेता हुन् ।

यसअघिको कांग्रेस जिल्ला अधिवेशनमा उनी देउवा समूहबाट जिल्ला सभापतिमा पराजित उम्मेदवार पनि हुन् । भण्डारी सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्षबाट २०५९ असोज १२ गते बुबाको हत्या गरिएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनी भन्छन्, ‘बुबाको निधनपछि राजनीतिलाई व्यक्तिगत लाभको खोजीमा नभई समाजलाई उज्यालो बनाउने माध्यम ठानेँ।’ उनका पिता पूर्णबहादुर भण्डारी दुल्लु गाविसका अध्यक्ष थिए ।

उनको परिवारको अपेक्षा डाक्टर बनाउने थियो। राजनीतिमा सक्रिय रूपमा संलग्न हुँदा पारिवारिक कर्तव्य सन्तुलनमा राख्न सफल भएको भण्डारी बताउँछन् । नेपाली कांग्रेसको दैलेख क्षेत्र नं.२ को दुई पटक क्षेत्रीय सभापति रहेका उनी २०७४ मा दुल्लु नगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७९ सालमा दैलेख २ (क) बाट प्रत्यक्षतर्फ चुनाव लडेर निर्वाचित भएका उनी अहिले पनि प्रदेशसभा सामाजिक विकास समितिका सभापति समेत छन् । एमएसीसम्मको अध्ययन गरेका उनी विभिन्न सामाजिक अभियानमा पनि सक्रिय व्यक्ति हुन् ।

 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका सुरेश अधिकारी २०४६ को जनआन्दोलनका क्रममा हिरासत समेत बसेका नेता हुन् । उनी नेपाल विद्यार्थी संघको तर्फबाट सल्यान बहुमुखी क्याम्पसको संस्थापक स्ववियु सभापति, नेपाल निजामती कर्मचारी संघको संस्थापक सल्यान जिल्ला अध्यक्ष, शारदा नगरपालिका सल्यानको प्रथम नगरप्रमुख समेत भइसकेका छन् ।

कांग्रेसभित्र शेखर कोइराला समूहका उनी अहिले कांग्रेस सल्यानको प्रदेशसभा २ (ख) को क्षेत्रीय सभापति छन् भने सोही क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लडेर सांसद बनेका हुन् । उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

 

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. १ मा २०३५ साउन ८ गते जन्मिएकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा २०५९ सालदेखि सक्रिय रूपमा कांग्रेसको राजनीतिमा लागेकी महिला नेतृ हुन् । २०६३ सालमा तरुण दलको जिल्ला सचिव भएकी उनी २०६३ सालमा महिला सघ हुम्लाको सचिव हुँदै २०६४ सालमा महाधिवेशन प्रतिनिधि भएकी थिइन् । उनी २०७९ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेशसभा सांसद बनेकी हुन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमबार