
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षारोपण गर्दा ध्यान दिनुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षारोपण कार्यक्रममा बोल्दै उनले मानव उपयोगी वृक्षारोपण गर्न आग्रह गरेका हुन्।
‘वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्” उनले भने, ‘पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दिगो विकासमा सहयोग पुर्याउँछ ।’ उनले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताए ।
जलवायु परिवर्तनको असरलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षारोपण अभियानलाई अनिवार्य सर्तका रूपमा लिइएको छ । सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रुख कटहर, बर पिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका बिरुवा लगाइएको जानकारी दिए ।
तस्बिरहरु हेर्नुहोस्…..
