
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्णय बमोजिम शुक्रवार (आज)देखि कर्णालीका १० दश जिल्लाका पार्टीका अगुवाहरूको सहभागितामा क्लोज क्याम्प बैठक सुर्खेतमा सुरु भएको छ । रास्वपाको विधान संशोधन, पार्टीको भावी कार्यदिशा लगायत अबको रणनीति तयार गर्ने उद्देश्य बैठक सुरु भएको हो ।
बैठकमा केन्द्रीय सदस्य हरि ढकाल र विनीता कठायतले आम जनताको भरोसाको पार्टी भएको बताए । कार्यक्रममा नेता हरिप्रसाद अधिकारीले सुर्खेत लगायत कर्णाली प्रदेशमा रास्वपा पार्टीलाई एक नम्बर बनाउन आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले केन्द्र, प्रदेश र पालिका स्तरमा छाया सरकारका रूपमा क्रियाशील हुन, जनताका सवाललाई प्रमुख मानेर अगाडि बढ्नुपर्ने बताए ।
साथै नेता अधिकारीले अब देशको काँचुली फेर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यक भएको दाबी गरे । कार्यक्रममा ६ वटा विभिन्न समूह निर्माण गरी व्यापक छलफल भइरहेको छ । छलफल शनिवारसम्म सञ्चालन हुनेछ ।
संसदीय मामिलाको नेतृत्व नेता हरिप्रसाद अधिकारी, विचार समूहको डा. गोविन्द आचार्य, सङ्गठन निर्माणको प्रेम चन्द, लिडरसिप एकेडेमीको इन्जिनियर मान बहादुर शाही, अभियानको पवनराज देवकोटा, मूल्य मान्यताको पुस्तक चन्दले नेतृत्व गर्दै समूहगत छलफल गरी शनिवार निष्कर्ष निकालिने बताइएको छ ।