२०८३ वैशाख १२ , शनिबार
ग्रामीण सडक

नागरिकलाई सुविधाभन्दा सास्ती धेरै



कुलेन्द्र शाही, सुर्खेत

निरन्तरको वर्षाका कारण देशैभरका ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरू सास्ती भोग्न बाध्य भएका छन् । जसमा कर्णालीका पनि अधिकांश ग्रामीण सडकमा गाडीहरू चल्न सक्ने अवस्था छैन । कतिपय ठाउँमा गाडी चलेपनि नागरिकलाई बिच बाटोमै अलपत्र पार्ने, ठाउँ ठाउँमा यात्रुहरूलाई गाडीबाट झार्ने लगायत समस्याले निकै सास्ती भएको छ ।

ग्रामीण सडकमा हिउँदमा नागरिकलाई सुविधा भएपनि बर्खामा भने हिलोले सास्ती खेप्नुपरेको छ । ग्रामीण सडकमा यातायातका साधनहरू छिटफुट रूपमा चलेपनि बिचबाटोमा सडक भासिने, हिलाम्मे हुनले यात्रुलाई झनै सास्ती भएको यातायात व्यवसायीको भनाइ छ ।

‘ग्रामीण सडकमा गाडी चलेपनि ठाउँ ठाउँमा यात्रुहरूलाई झार्नुपर्छ, बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै प¥यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी प¥यो भने चिप्लिने डर हुन्छ’, अरू बेला तीन–चार घण्टा लाग्ने बाटोमा अहिले दिनभर लाग्छ,’ एकजना गाडी चालक अर्जुन विकले भने । ‘सम्बन्धित निकायले सडक निर्माण गरेर मात्र छोड्छ, तर कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।’

उनकाअनुसार ग्रामीण सडकमा सरकारले चासो नदिँदा यात्रु र गाडी चालकलाई निकै समस्या भएको गुनासो गरे । कर्णालीका दसैँ वटै जिल्लाका ग्रामीण सडकमा त्यहाँका नागरिकहरूले समस्या खेप्नु परेको छ । त्यति मात्रै होइन कर्णाली प्रदेशको प्रदेश राजधानी सुर्खेत भइसक्दा पनि सुर्खेतले विकासको गति लिन सकेको छैन । सुर्खेतको पश्चिम चौकुने, बराहताल, पञ्चपुरीमा सडक पुगेपनि ती सडकको स्तरोन्नति नहुँदा हरेक वर्ष सास्ती भोग्दै आएका छन् ।

विशेष गरेर पश्चिम सुर्खेतको लगाम, बेतान र बिजौराका बासिन्दालाई बर्खायाममा निकै सास्ती खेप्नुपरेको छ । सडकको स्तरोन्नति नहुँदा आफूहरूलाई निकै सास्ती भएको पञ्चपुरीका शेरबहादुर थापाले गुनासो गरे । यस्तै सुर्खेतकै चिङ्गाड गाउँपालिकाका सबै ठाउँमा सडक पुगेपनि अधिकांश ठाउँमा गाडी चल्न सक्ने अवस्था छैन । चिङ्गाडकी स्थानीय कमला नेपालीले बर्खा याममा गाडीहरूमा यात्रा गर्दा निकै सास्ती खेप्नुपरेको बताइन् ।

‘कहिले काहीँ गाडी गाउँमा आउँदैनन्, आएपनि गाडी फस्ने, यात्रुहरूलाई गाडीबाट झारेर धकेल्न लगाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।’ यस्तै अर्का एकजना गाडी चालक रमेश बस्नेतले जोखिम मोलेर गाडी चलाए पनि गन्तव्यसम्म नपुग्ने अवस्था भएको बताए । यस्तै जाजरकोटको शिवालय गाउँपालिकाका सबै ठाउँमा सडक पुगेपनि बर्खा याममा सवारी साधन पुग्न सक्ने अवस्था छैन । पालिका जाने बाटोको अवस्था पनि नाजुक रहेको स्थानीयको भनाइ छ ।

गत शुक्रवार मात्रै शिवालयको डुंग्रा खोलामा सडक अवरुद्ध हुँदा दिनभर यातायात ठप्प भएका थिए । पालिकाले उक्त सडक स्तोरन्नतीको लागि लाखौँ रकम खर्च गरेपनि सडकको अवस्था भने नाजुकै रहेको छ । ग्रामीण सडक खण्ड ‘ग्राभेलिङ’ र कालोपत्रे नहुँदा सडक भत्किनुका साथै ठुला खाल्डा परेकाले थप जोखिम बढेको गाडी चालकहरू बताउँछन् ।

बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठुलो–ठुलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठुलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था छ ।’ चालक विकले भने । कच्ची सडकका रूपमा निर्माण भएका सडक स्तरोन्नति नहुँदा सडक खाल्डा परेको, ठाउँ ठाउँमा भत्किएको र जीर्ण बनेको यातायात व्यवसायीको गुनासो छ ।

वर्षौँदेखि सडक खण्डमा ठुला खाल्डा परेको र कतिपय स्थानमा भत्किएको भन्दै यसको पुनः निर्माण हुनुपर्ने उनीहरूको माग छ । ग्रामीण सडक जीर्ण बन्दै गएपछि अहिले पहाडी क्षेत्रमा सञ्चालन हुने अधिकांश यातायात साधन जोखिमपूर्ण सञ्चालन गर्न बाध्य छन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार