२०८३ जेठ २६ , मंगलबार

सुर्खेतमा जनसंगठनका अगुवाहरुलाई प्रशिक्षण 



सुर्खेत । नेकपा एमाले जन संगठन संयन्त्र सुर्खेतले जनसंगठका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिएको छ । नेकपा एमाले जनसंगठन संयन्त्रका केन्द्रीय प्रमुख भानुभक्त ढकालको उपस्थितिमा शनिवार वीरेन्द्रनगरमा प्रशिक्षण आयोजना गरिएको हो । जनसंयन्त्र प्रमुख ढकालले नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने बताए ।

उनले विकास र समृद्धिका लागि गरेका सङ्कल्प पूरा गर्न एमालेलाई आगामी निर्वाचनबाट बहुमतले निर्वाचित गराउन लाग्न आग्रह गरे ।स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आर्थिक सामाजिक रूपान्तरणका लागि आ–आफ्नो क्षेत्रमा भूमिका खेल्न सुझाव व्यक्त गरे ।

केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले जनताको बहुदलीय जनवाद र समाजवाद, केन्द्रीय सदस्य ठम्मर विष्टले सङ्गठनात्मक सिद्धान्त र कार्यदिशा, केन्द्रीय सदस्य मोहनमाया ढकालले महिला नेतृत्व र अनेम सङ्घ, केन्द्रीय स्कुल विभाग सदस्य गेहेन्द्र दाहालले व्यक्तित्व र नेतृत्व साथै कर्णाली प्रदेश कमिटी सचिव ध्रुवकुमार शाहीले समसामयिक राजनीतिक विषयमा पार्टीसँग आबद्ध सबै जनसंगठनका अगुवा नेतारकार्यकर्तालाई प्रशिक्षण दिएको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

जनसंगठन संयन्त्र सुर्खेतका प्रमुख सुशीला विश्वकर्माले आगामी दिनमा सबै जनसङ्गठनहरूले जिल्ला र पालिका स्तरमा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने कार्ययोजना रहेको बताइन् । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले पार्टीका कार्यकर्ताहरूलाई मिसन ०८४ मा लाग्न आग्रह गरे । उनले सुर्खेतका ९ वटै पालिका कमिटी गठन भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार