
सुर्खेत । सुर्खेत बसपार्कमा लामो समयदेखि यात्रु तानातान भइरहेको छ । केही समय अगाडि यात्रु तानातान विषयलाई लिएर एकजना घाइते समेत भएका थिए । गत फागुन २४ गते यात्रु खोसाखोस गर्ने क्रममा बस व्यवसायीबिच विवाद हुँदा एक जना बस व्यवसायीका कर्मचारी घाइते भएको थिए । कर्मचारी घाइतेका साथै व्यवसायीबिच हात हालाहाल समेत भएको थियो भने प्रहरीले त्यतिबेला एक जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले यातायात व्यवसायीलाई यात्रु खोसाखोस नगर्न सुझाव दिँदै सुरक्षामा कडाइ गरेको दाबी गरेको थियो । तर, बसपार्कमा अहिले पनि यात्रु तानातान प्रक्रिया निरन्तर चलिरहेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दैनिक सयौँ सार्वजनिक यातायात पहाडी, हिमाली तराईका विभिन्न जिल्लाहरूका लागि छुट्ने गर्छन् । स्वच्छ प्रतिस्पर्धाभन्दा बसपार्क पुग्ने यात्रुहरू तानातान गर्दा यात्रुहरू सास्ती भएको छ । यहाँ विशेष तीन यातायात प्रालिबिच विवाद हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ ।
८ ओटा यातायात प्रालि मिलाएर संयुक्त रूपमा गाडीहरू बसपार्कबाट छुटाउने गरेका छन् । संयुक्त विरुद्ध एक्लै हिल्सा पब्लिक र भिजिट कर्णालीले सवारी छुटाउँदै आएका छन् । आइतबार बिहान हिल्सा पब्लिक, भिजिट कर्णाली र संयुक्त यातायात व्यवसायीका कर्मचारीले यात्रु कसले चढाउने विषयमा विवाद हुँदा संयुक्त यातायात व्यवसायीहरूले केही बेर सडकमा गाडी तेर्साएर हडताल नै गरे । यहाँ संयुक्तले हिल्सा र भिजिटलाई विभिन्न आरोप लगाउँदै पन्छिन खोज्ने गरेको छ भने हिल्सा र भिजिटले उनीहरूलाई आरोप लगाउँदा दैनिक जसो बसपार्कमा विवाद सिर्जना भइरहेको हुन्छ ।
वीरेन्द्रनगरमा रहेको एउटा मात्रै बसपार्कमा यस्ता घटना दिनहुँ देखिरहन्छन् । विशेषतः गाडीका सहचालकहरू अटोमा बसेर यात्रुहरू आएको ठानी अटो रोक्नै दिँदैनन् । उनीहरू चलिरहेको अटोलाई रोकेर समेत यात्रुहरूलाई तानातान गर्छन् । कतिपय वीरेन्द्रनगरको एक चौकबाट अर्को चोक जान लागेका अटोमा बसेका यात्रुहरूलाई समेत रोकेर तानातान गर्दै सास्ती दिने गरेको गुनासो यात्रु र अटो चालकको छ । यात्रु कता जाने हो थाहा नभएपनि तानातान गर्ने गरेको यात्रुहरूको गुनासो छ ।
लामो दुरीको यात्रा गर्ने यात्रुले मात्रै होइन, पैदल हिँड्ने यात्रुले पनि वीरेन्द्रनगर बसपार्कमा हिँड्दा ठुलै झन्झट बेहोर्नु परिरहेको हुन्छ । बसपार्क नजिकबाट एकजना मान्छे हिँड्नै हुन्न त्यसलाई तान्न पाँच जना भन्दा धेरै पुग्ने गरेको बसपार्क नजिक व्यवसाय सञ्चालन गरेर बस्नेहरू बताउँछन् । यता, सुर्खेत देउती नागरिक यातायात प्रालिका सचिव रमेश खड्काले बसपार्कमा दैनिक जसो यात्रुहरू खोसाखोस हुने गरेको स्वीकार गरे । ‘यात्रु खोसाखोस भएको सही हो । यो विवाद सिर्जना गराउने हिल्सा र भिजिट हुन् ।’ उनले भने, ‘हामीले संयुक्त रूपमा आउनुहोस् सबैलाई सहज हुन्छ भन्दा उहाँहरू मान्नुहुन्न, त्यसले गर्दा बसपार्कमा दिनहुँ किचलो भइरहेको हुन्छ ।’
उनले भिजिट र हिल्सा संयुक्तमा समावेश नभएमा संयुक्त यातायात पनि टुटफुट हुने चेतावनी दिए । ‘उहाँहरू मान्नुहुन्न भने हामी पनि टुटफुट हुन्छौँ । त्यसपछि झन् यात्रुलाई सास्ती हुन्छ । यात्रु खोसाखोस हुन्छ ।’ सचिव खड्काले भने । यता, भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश कुमार शाहीले आफूहरू संयुक्तमा गाभिने सम्भव नभएको ठोकुवा गर्छन् । ‘हामी नयाँ भयौ, सेवा सुविधा राम्रो दिऔँ । यात्रुहरू हाम्रोमा आउन आउन थाले त्यही संयुक्तलाई मन परेन ।’ उनले भने, ‘उहाँहरू संयुक्तमा आउने बराबर गर्ने भन्नुहुन्छ । हामी त्यो मान्दैनौँ । हामीले स्वतन्त्र रूपमा व्यवसाय गर्न पाउनुपर्छ ।’
यस्तै हिल्सा पब्लिक यातायात प्रालिका अध्यक्ष उपेन्द्र शाहीले स्वतन्त्र रूपमा व्यवसायी गर्नमा संयुक्तले वाधा गरेका बताए । ‘संयुक्तको नाममा जुन सिन्डिकेट लाद्ने काम भइरहेको छ, यो गलत हो । अहिलेको समयमा सबैले व्यवसाय गरिखान पाउनुपर्छ त्यसैले हामी स्वतन्त्र रूपमा चल्न पाउनुपर्छ भन्दै यात्रुहरूलाई सेवा दिइरहेका छौँ ।’ यातायात व्यवसायीको आ–आफ्नै दाबीले यात्रुहरूले बसपार्कमा सास्ती खेप्नु परेको छ । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने बसपार्कमा यात्रु खोसाखोस नभएको दाबी गरेको छ ।
बसपार्कमा यात्रु खोसाखोस नभई उहाँहरूबिचै आफ्नै विवाद हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘यात्रु खोसाखोस भएको भन्ने सामान्य हो । हामीले दैनिक रूपमा प्रहरी खटाएकै छौँ । उहाँहरू आफै विवाद सिर्जना गर्नुहुन्छ ।’ उपरीक्षक खड्काले भने, ‘यदि यात्रु खोसाखोस भएका रहेछ भने पनि हामी सुरक्षामा कडाइ गर्छौ ।’
उपरीक्षक खड्काले सुरक्षा कडाइ गर्ने आश्वासन दिएपनि बसपार्कमा सुरक्षाको लागि दैनिक प्रहरी समेत परिचालन गरिएको हुन्छ । प्रहरीले भनिरहँदा पनि यातायात व्यवसायीका कर्मचारीले यात्रु तान्ने प्रवृत्ति भने निरन्तर भइरहेको छ ।