२०८३ वैशाख १२ , शनिबार
सरकारको नीतिमा ‘वीरेन्द्रनगर स्वच्छ कार्यक्रम’

होडिङ बोर्डको होडबाजीले कुरूप बन्दै वीरेन्द्रनगर !



कुलेन्द्र शाही, सुर्खेत । स्थलगत विज्ञापन जसलाई नेपालमा होर्डिङ बोर्डको नामले चिनिन्छ । विश्वभर यसलाई बाह्य विज्ञापन, घर बाहिरको विज्ञापनलगायत विभिन्न नामले चिन्ने गरिएको छ । स्थलगत विज्ञापन वा होर्डिङ बोर्डले डिजिटल बोर्ड, विल बोर्ड, ग्लो साइन बोर्ड, लाइट बोर्ड, टु डी तथा थ्री डी बोर्डलगायत पर्चा, पम्प्लेट, पोस्टर, भित्ते लेखनका साथै कुनै कार्यालय, पसल वा अन्य स्थलमा राखिने परिचयपाटीसमेतलाई बुझाउँछ ।

जहाँ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जथाभाबी रूपमा प्रयोग गरिएका यस्ता होडिङ बोर्डका कारण बजारको सौन्दर्ययता हराउँदै जान थालेको छ । त्यति मात्र नभई सडकका छेउछाउँमासमेत विभिन्न आफ्नो व्यवसायको लागि प्रचार प्रसारका होडिङ बोर्डहरू राखिएको छ । वीरेन्द्रनगरमा मात्रै नभई कर्णाली राजमार्ग, रत्न राजमार्ग र दैलेख–सुर्खेत खण्डमै प्रचार प्रसारका होडिङ बोर्ड छ्यापछ्याप्ती छन् ।

होडिङ बोर्डका कारण बजार क्षेत्रको सौन्दर्ययतामा कमी आएको सर्वसाधारणको भनाइ छ ।सरकारी कार्यालय भन्दा निजी कम्पनीहरूले आफ्नो व्यापार व्यवसायको प्रचार प्रसारका लागि होडिङ बोर्ड व्यापक मात्रामा प्रयोग गर्दै आएका हुन् । रत्न राजमार्ग अन्तरगत छिन्चुदेखि वीरेन्द्रनगर बजारसम्म हजारौँ होडिङ बोर्ड टाँसिएको छ । जसकारण कतिपय अवस्थामा होडिङ बोर्डका कारण दुर्घटना समेत निम्त्याउने गरेको सर्वसाधारणको गुनासो छ । स्थानीय प्रेम आग्रीले बजार क्षेत्रमा जथाभाबी होडिङ बोर्डको प्रयोग हुँदा दुर्घटनाका साथै बजारको सौन्दर्ययता घट्दै जाने बताए ।

जथाभाबी राखिएका होडिङ बोर्ड नगरपालिकाले हटाउनुपर्ने बताए । बजारका कुनै पनि घरका छत खाली नभएको बताउँदै त्यसले बजारको सौन्दर्ययतालाई बिगारेको उनको भनाइ छ । ‘बजारका कुनै पनि घरका छत खाली छैनन् त्यति मात्रै होर कतिपय बिजुलीका पोल, सडकका छेउँछाउँमा भएका रुखमा समेत निजी व्यवसायका होडिङ बोर्ड राखिएको छ, यसले गर्दा बजारको बजार कुरूप बन्दै गएको छ ।’ उनले भने, ‘काठमाडौँमा केही समय अगाडि महानगरपालिकाले होडिङ बोर्ड हटायो हाम्रो नगरपालिकाले पनि यस्तै गरेको भए हुन्थ्यो ।’

यस्तै अर्का शङ्कर शाहीले व्यावसायिक कारोबारको प्रतिस्पर्धाका लागि विज्ञापनका लागि होडबाजी चलेको बताए । कारोबार बढाउन हुने यो होडबाजीमा वस्तु व्यापारका विज्ञापनका होर्डिङ बोर्डले वीरेन्द्रनगर दिनदिनै कुरूप बन्दै गएको गुनासो गरे । होर्डिङ बोर्डले बिर्तामोड कुरूप बनाएको विषयमा अनुगमन गर्ने निकाय बेखबर बनेको स्थानीयको भनाइ छ । जानकारी भएपनि नगरपालिकाले कारबाही अघि नबढाउँदा व्यापारिक कारोबारका होर्डिङ बोर्ड होटेल, किराना पसलदेखि मदिरा पसलसम्मले सडक नै छोप्ने गरी राख्ने गरिएको छ ।

नियम विपरीत होर्डिङ बोर्ड राख्नेमा बहुराष्ट्रिय कम्पनीदेखि मदिरा कम्पनीसम्म छन् । नियमविपरित राखिएका होर्डिङ बोर्डका कारण सर्वसाधारणले सडक पेटीमा समेत सहजै हिँडडुल गर्न कठिनाइ ब्योहोरिरहेका छन् । अव्यवस्थित होर्डिङ बोर्डका कारण सडक सौन्दर्ययता गुमेको र सर्वसाधारणलाई आवतजावतमा समेत समस्या पर्न थालेको स्थानीयवासी बताउँछन् । सार्वजनिक स्थानमा ठुला होर्डिङ बोर्ड राख्न पाइँदैन । तर, नियम विपरीत जथाभाबी वीरेन्द्रनगरका मुख्य बजारमा होर्डिङ राखिएको छ ।

नियम विपरीत होडिङ बोर्ड राखिँदा यहाँको सुन्दरता दिनप्रतिदिन बिग्रँदै गएको छ । सडक पेटीदेखि घर, विद्युत्का पोल, रुखमा समेत होडिङ बोर्ड राखिएको छ । ठुलठुला होडिङ बोर्ड राखिएकै कारण हावाहुरीले होडिङ बोर्ड झारेर दुर्घटना निम्त्याउने जोखिम बढे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ । विभिन्न रक्सी कम्पनीका बोर्ड, शैक्षिक संस्थाका बोर्ड, विभिन्न व्यावसायिक प्रयोजनका होडिङ बोर्डहरू राख्ने गरेको पाइएको छ । प्रहरी प्रशासनकै आँखा अगाडि यस्ता होडिङ बोर्ड प्रशस्तै भेटिए पनि प्रहरी पनि रमिते बनेको छ ।

कागजमै सीमित ‘वीरेन्द्रनगर स्वच्छ कार्यक्रम’
प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरलाई वीरेन्द्रनगर स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गर्ने भन्दै नीति तथा कार्यक्रममा उल्लेख ग¥यो । नीति तथा कार्यक्रममा भनिएको थियो ‘वीरेन्द्रनगर सुर्खेतलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहरको रूपमा विकास गर्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने छ ।’ तर प्रदेशले हालसम्म पनि यस कार्यक्रमबारे कुनै पनि ठोस योजना अगाडि बढाएको छैन । सरकारले नीतिमा उक्त कार्यक्रम समावेश गरेपनि कार्यक्रम कार्यान्वयन हुने सम्भावना न्यून देखिएको छ ।

केही हटायौँ, अरू प्रक्रियामै छौ : प्रमुख ढकाल
वीरेन्द्रनगर नगरपालिकाले केही होडिङ बोर्ड हटाएको र केही प्रक्रियामै रहेको जनाएको छ । नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले आफूहरूले हाइवेमा भएका होडिङ बोर्ड हटाएको र अन्य हटाउने प्रक्रियामै रहेको जानकारी दिइन् । ‘हामीले हाइवेका होडिङ बोर्ड हटाइसक्यौँ, अरू अब टेण्डरकै प्रक्रियामा छौ’ प्रमुख ढकालले भनिन्, ‘बजार क्षेत्रका होडिङ बोर्ड हटाएर अब अनुमति लिएर मात्रै राख्न मिल्ने बनाउने हो ।’

अव्यवस्थित प्रचार र होर्डिङ बोर्डले सहरी सौन्दर्यलाई समेत कुरूप पारिएको प्रति चिन्ता व्यक्त गर्दै प्रमुख ढकालले धरापमा परेका र अव्यवस्थित प्रचार सामग्रीलाई नगरपालिकाले हटाउँदै जाने बताइन् । उनले सर्वसाधारणलाई असर पु¥र्याउने गरी राखेका होडिङ बोर्ड हटाउन अन्तिम तयारीमा रहेको दाबी गरिन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ भदौ १४ गते शुक्रबार