२०८३ वैशाख १२ , शनिबार

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, बीच बाटोमै यात्रु अलपत्र



सुर्खेत । गत बुधवार राति परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्गका विभिन्न क्षेत्रको आवजावत विच्छेद भएको छ । कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएको हो । कर्णााली प्रदेश प्रहरीका अनुसार, कर्णाली राजमार्ग अन्तर्गतको दैलेख र कालिकोटका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बन्दा यात्रुहरूलाई सास्ती भएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेख जिल्लाको आठबीस नगरपालिका–७ मालचौरमा लेदोसहितको पहिरो खसेर १२ गते बेलुकादेखि अवरोध बनेको छ । यस्तै, कालीकोट जिल्लाका विभिन्न ठाउँमा राजमार्ग अवरोध बनेको छ । शुभकालिका गाउँपालिका–१ गगनेखोला, शुभकालिका–१ कै दही होला र कालीकोट जिल्लाकै खाँडाचक्र नगरपालिका–२ हुल्म बजारमा सडक अवरोध भएको छ । गगने खोलामा सडक भास्सिएको, दही खोलामा दही खोलाले सडकलाई कटान गरेको र हुल्म बजारमा पहिरोका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, वर्षापछिको सुख्खा, लेदो पहिरो तथा खोला बढेका कारण भेरी करिडोर कर्णाली करिडोरका विभिन्न ठाउँमा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भेरी करिडोर अन्तरगत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ को छलगार्ड, ९ को चुलगार्ड र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ गिजिगारखोलामा खोला बढेको कारण सडक अवरुद्ध छ । कर्णाली करिडोर अन्तरगत हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–३ मर्कै काठेसेरा खोलामा खोला बढेको र खार्नुनाथ गाउँपालिका–१ मुसेरीमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको प्रहरीको भनाइ रहेको छ ।

सडक सञ्चालमा आउन समय लाग्ने
यस्तै, कर्णाली राजमार्गमा ठाउँठाउँमा भएको अवरोध हटाएर सडक सञ्चालमा ल्याउन समय लाग्ने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले अवरुद्ध भएको राजमार्ग एकतर्फी मात्रै खुलाउनका लागि कम्तीमा तीनदिन लाग्ने जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवम् इन्जिनियर वीरबहादुर जिटीले बाढी र पहिरोका कारणले अबरुद्ध कर्णाली राजमार्ग खुलाउन अझै केही दिन लाग्ने बताए ।

‘सडक सुचारु गर्नका लागि हेभी इक्वीपमेन्टहरू परिचालित भइसकेका छन्,’ उनले भने, ‘पहिरोका कारण धेरै ठाउँमा ठुलो क्षति भएको छ। सडक खुलाउन तीनदेखि चार दिन लाग्ने प्रारम्भिक अनुमान हामीले गरेका छौ ।’ सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले कर्णाली राजमार्गको गगने खोला, दैहीखोला, हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान थुप्रै स–साना पहिरो सडकमा खसेका जानकारी दिए । उनले सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर आइरहेको पहिरोले यात्रा सास्तीपूर्ण भएको बताए ।

कर्णाली राजमार्ग अन्तगतको दैलेख र कालीकोटका विभिन्न ठाउँमा ठूलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्णरुपमा अलग भएका छन् । दुई सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हालसम्म चार दर्जन भन्दा बढी पहिरोले पटक–पटक सडक अवरुद्ध गरिसकेको छ ।

वर्षौंदेखि उस्तै समस्या
कर्णाली राजमार्गमा वर्षाैदेखि उस्तै समस्या कायमै रहेको छ । कर्णाली राजमार्ग सञ्चालन आएको १८ वर्ष बढी भयो । राजमार्ग सञ्चालन आएको १८ वर्ष बढी भइसक्दा पनि कर्णालीवासी ढुक्कले यात्रा गर्न सकिरहेका छैनन् । कर्णाली प्रदेशका पाँच हिमाली जिल्ला जुम्ला, हुम्ला,कालिकोट, डोल्पा र मुगुलाई प्रदेश राजधानीसँग जोड्ने एकमात्र राजमार्ग हो । राजमार्ग सञ्चालन भएको १८ वर्ष भइसक्दा पनि हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने स्थिति अझै सुध्रिएको छ ।

यस वर्ष मात्रै होइन हरेक वर्ष कर्णाली राजमार्गमा उस्तै समस्या छ । बर्खा सुरु हुन बित्तिकै कर्णाली राजमार्ग क्षतविक्षत हुने कुरा नौलो नभएको यहाँका स्थानीयको भनाइ छ । बर्खामा पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नति तथा कालोपत्रेका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ ।

किन जान्छ बारम्बार एकै ठाउँमा पहिरो ?
एउटै राजमार्ग तथा एउटै ठाउँमा बारम्बार पहिरो जाने हुँदा पनि सरकारी निकायको भने खासै चासो देखिदैन् । गगनेखोला, दहीखोला, एसमोडमा एक पटक होइन, वर्षौंदेखि पहिरो आउने र सडक क्षति हुने गरेको छ । इञ्जिनियर जिटीले प्राकृतिक रूपले नै निकै अप्ठ्यारा ठाउँ भएकाले यहाँ बारम्बार पहिरो जाने गरेको बताए । उनले एकपटक पहिरो गएपछि त्यहाँ बिरुवा रोप्ने लगायतका काम नभएको हुँदा पनि पहिरो जाने गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार