
फाइल तस्बिर
सुर्खेत । कर्णाली राजमार्गको कालिकोट खण्ड खुलेको छ । चार दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालीकोट खण्ड खुलेको हो । गएको बुधवार परेको पानीसँगै आएको बाढी पहिरोले अवरुद्ध भएको हुल्म, एसमोड र गगनेखोलाको पहिरो हटाएपछि कालीकोट खण्ड खुलेको हो ।
कालीकोट खण्डको सडक खुले पनि दही खोलाको पहिरो पन्छाउने काम बाँकी नै छ । दैलेख खण्डको किटु र दही खोलामा आज पनि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा मुख्यगरी स्याउ बोकेका ट्रक बाटोमा रोकिएका छन् ।
जुम्लामा उत्पादन भएको स्याउ बजार पठाउने बेला सडक अवरुद्ध हुँदा कुहिने जोखिम बढेको छ । सडक खुल्ने र बन्द हुने निश्चित नहुँदा बाटोमा अलपत्र परेको स्याउ मात्रै नभएर बोटकै स्याउ पनि बजार लैजान र व्यवस्थापन गर्न गाह्रो भएको किसान र व्यवसायीले गुनासो गरेका छन् । जुम्लाको स्याउ निर्यात हुने बेलामा भएको सडक अवरोध हटाउन सरकारले ढिलासुस्ती गरेको भन्दै किसान, व्यवसायी र पालिकाका जनप्रतिनिधिले मुख्यमन्त्रीदेखि प्रशासनसम्मलाई ध्यानाकर्षण गराएका छन् ।