
प्रकाश शाही, सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८०/०८१ मा करिब ५ सय बढी पटक बजार अनुगमन गरेको छ । कार्यालयले सिद्धदर्शन दैनिकलाई दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ५ सय ३५ पटक बजार अनुगमन गरेको जानकारी दिएको छ ।
सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा २४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो । अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने लगायतका व्यवसायीविरुद्ध कारबाही गरिएको कार्यालयका सुचना अधिकारी पदम बरालले जानकारी दिए ।
उनका अनुसार तीन व्यवसायीविरुद्ध जिल्ला प्रशासन र एक व्यवसायी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । अनुगमनका क्रममा मापदण्ड नरहेकाअखाद्य तथा पेय पदार्थ लगायतका सामान जफत गरी नष्ट गरिएको समेत उनले बताए ।
अनुगमन हुन्छ, कारबाही हुँदैन
नियन्त्रण कार्यालयले गत आर्थिक वर्षमा ५ सय ३५ पटक अनुगमन गर्दा जम्मा २४ जनालाई मात्रै कारबाही गरेको छ । अनुगमनका क्रममा प्राय पसलमा कैफियत देखिएको हुन्छ । तर कार्यालयले सम्झाई बुझाई गरेर छोड्ने गरेको छ । त्यसको प्रत्यक्ष असर उपभोक्ता तथा आम नागरीकलाई पर्ने गरेको छ ।
मासु पसल वरपर फोहोर र झिँगाका कारण मासु खानै नमिल्ने होटेलको समेत जथाभावि फोहोर हुँदा पनि नियन्त्रण कार्यालयले व्यवसायीलाई कारबाही नगरि छोड्ने गरेको छ । किराना पसलमा पनि म्याद नाघेका खाद्यवस्तुसँगै मूल्यसूची पनि टाँसिएको नहुँदा पनि कार्यालयले कारबाही गर्न नसकेको उपभोक्ताको गुनासो छ । मासु पसलमा स्वच्छताको मापदण्ड पूरा नहुने मात्र होइन, कतिपयले पसलसमेत दर्ता नगरेको भेटिएको हुन्छ ।
मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढाएको उनीहरुको गुनासो छ । नियमित अनुगमन नहुँदा कालोबजारी गर्नेको मनोबल तथा अखाद्य वस्तुको बिक्री वितरण पनि बढ्ने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । यता सुचना अधिकारी भने ५ सय ३५ पटक बजार अनुगमनमा २४ व्यवसायी कारबाहीमा पर्नु राम्रो भएको बताउँछन् । ‘हामीले नियमित अनुगमन गर्ने गरेका छौँ’ यो पटक अनगमनका क्रममा मापदण्ड पुरा नगरेका २४ व्यवसायीलाई कारबाही विरुद्ध मुद्धा दायर गरेका छौँ ।’ यो समाचार सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।