
सुर्खेत । प्रेस चौतारी नेपाल जिल्ला शाखा सुर्खेतले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुधवार वीरेन्द्रनगरमा आयोजित तीज विशेष कार्यक्रममा पत्रकार महिलाले छमछमी नाचेर कार्यक्रम सम्पन्न गरेका हुन् । उनीहरुले विभिन्न धुनमा गीत तथा नृत्य सहितको प्रस्तुतिद्धारा मनोरञ्जन गराएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य नवराज रावतले पछिल्लो समय तीज भड्किलो, चडकिलो खर्चिलो बन्दै गएकोले मौलिकतालाई बचाउँदै तीज पर्व मनाउनु पर्नेमा जोड दिए । उनले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराएर दुःख सुख साट्ने अवसर दिनु सुःखद पक्ष भएको बताए ।
नेकपा एमाले प्रदेश कमिटी उपसचिव पद्मा खड्काले महिलाहरुको महान चाड तीज कार्यक्रमले महिला शसक्तिकरणको सन्देश दिनुपर्नेमा जोड दिइन् । उनले तीजलाई भड्कीलो नबनाई कला, सस्कृति जोगाउँने अवसरको रुपमा मनाउन जोड दिइन् ।
यस्तै प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले हरितालिका तीज पर्वको अवसर पारेर महिला पत्रकारहरुबीच आपसी सद्भाव स्थापित गराउन भेटघाट, शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।




