२०८३ वैशाख २६ , शनिबार

क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता, कर्णालीवासीहरु अन्य प्रदेश धाउन पर्ने बाध्यताको अन्त्य



प्रकाश शाही, सुर्खेत । सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि अब सुर्खेतमा समेत क्यान्सर उपचार शुरु हुने भएको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ । यसअघि यस्तो सेवाका लागि कोशी प्रदेश अस्पतालसँगसमेत बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सम्झौता भैसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो । त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए ।

कर्णालीबासीहरु अन्य प्रदेश धाउन पर्ने बाध्यताको अन्त्य
यसअघि कर्णाली क्यान्सरपीडितहरु एपचारका लागि अन्य प्रदेश धाउनुपर्ने बाध्यता थियो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि यहाँका क्यान्सर पीडितहरु उपचारका लागि संघीय राजधानी काठमाडौं तथा चितवनको भरतपुरलगायतका ठाउँमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

हाल बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मात्रै सरकारीस्तरका क्यान्सर अस्पतालहरू छन् । क्यान्सर निदान हुने अस्पतालको संख्या कम हुँदा यी अस्पतालमा बिरामीको चाप अध्यावधिक हुने गर्छ । कर्णालीसहति सातै प्रदेशमा क्यान्सर अस्पताल विस्तार भएपछि यसको पहिचान र निदानमा सहज हुने अपेक्षा लिइएको छ ।

अन्य प्रदेशमा पनि उपचार सेवा विस्तार हुँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका सङ्घीय तहका क्यान्सर अस्पतालहरूबाट उपलब्ध जनशक्ति तथा साधन स्रोत एवं आवश्यकतानुसार थपसमेत गरी सातै प्रदेशमा अवस्थित कम्तीमा एक सङ्घीय/प्रादेशिक अस्पतालहरूबाट क्यान्सर रोग उपचार र व्यवस्थापन गर्ने उद्देश्यअनुरुप कार्यविधि तयारसमेत गरीसकेको छ ।

कार्यविधि अनुसार भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन र सुशील कोइराला प्रखर क्यान्सर अस्पाल खजुरा बाँकेले क्यान्सर रोगको निदान, उपचार, पुनर्स्थापना र प्रशामक सेवालगायत विस्तारित सेवाका लागि विशेषज्ञ सहयोग गर्नेछन् । यी अस्पतालहरूले विस्तारित सेवा प्रदान गर्ने अस्पतालमा विस्तारित क्लिनिक तथा शाखा स्थापनाको माध्यमबाट क्यान्सर रोगको उपचार सेवा प्रदान गर्नेछन् ।

विस्तारित सेवा प्रदान गर्ने अस्पतालहरूले भित्री विस्तारित क्लिनिकको माध्यमबाट क्यान्सर सेवा प्रवाह गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ, जसमा भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरले कोशी अस्पताल, विराटनगर र नारायणी अस्पताल वीरगञ्जमा सेवा विस्तार गर्नेछ । यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र सेती प्रादेशिक अस्पताल धनगढीमा क्यान्सर रोग उपचार सेवा विस्तार गर्ने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (सन् २०२४–२०३०) तयार पारेसँगै अबदेखि सातवटै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा विस्तार हुने भएको छ ।

बढ्दै क्यान्सर रोगका बिरामी
नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सबैभन्दा बढी फोक्सो, स्तन, पाठेघरको क्यान्सर देखिने गरेको छ । विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हुने कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी हिस्सा ७१ प्रतिशत नसर्ने रोगका कारणले हुने मन्त्रालयले जनाएको छ, जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्युको कारण क्यान्सर हुने गरेको छ । नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी देखापरेका थिए भने १४ हजारभन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए ।

रोग लागेर उपचार गर्न धेरै धनराशि खर्च गर्नुभन्दा रोग लाग्नै नदिने रोकथामको उपायमा लाग्नु राम्रो हुने क्यान्सर रोग विशेषज्ञहरुको भनाइ छ । चुरोट र मदिराको अत्यधिक सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुने र खैनी र गुट्खा खाँदा मुखको क्यान्सरको जोखिम हुने उनीहरु बताउँछन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार