
फाइल तस्बिर
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोले पुरिएका दम्पतीको शव आइतबार बिहान साढे १० बजेको समयमा फेला परेको हो ।
आज बिहान २ः५० बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको पतिपत्नी नै बेपत्ता भएका थिए । बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् ४७ वर्षीय मानबहादुर चलाउने बेपत्ता भएको जानकारी दिएका थिए ।
याे पनि हेर्नुहाेस् – जाजरकोटको बारेकोटमा पहिरो, वडासदस्यसहित दुई जना बेपत्ता
पहिरोमा पुरिएर घाइते भएकी उनीहरूकी ११ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा प्रदेश अस्पताल कालागाउँमा पठाइएको छ । यस्तै सदस्य दम्पतीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले खबरदृष्टिलाई जानकारी दिए ।
सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया विमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।