२०८३ वैशाख १९ , शनिबार

नेपाल प्रहरीको ‘सई’ हुँ भन्दै १६ जिल्लामा ठगी गर्ने दुई जना पक्राउ



सुर्खेत । नेपाल प्रहरी विधि बिज्ञान प्रयोगशालाको प्रहरीको सई हुँ भन्दै विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास बिसी र बाँके राप्ती सोनारी गाउँपालिका–७, बाँके घर भई हाल लालपुर बस्दै आएका ३६ वर्षीय लोकबहादुर खाँण छन् ।

आफूहरु प्रहरीको सई भएको बताउँदै दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेहथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका व्यक्तिहरुलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीले सुरुमा बिसी र त्यसपपछि खाणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा विभिन्न मुद्दा मिलाउने भन्दै ठगी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए । सुरुमा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ का खगेन्द्र अधिकारी जबरजस्ती करणी मुद्दामा दैलेख कारागार थुनामा थिए । जवरजस्ती करणी र लागुऔषध मुद्दामा अदालतीय प्रक्रियामा जान मेडिकल परिक्षण रिर्पोट आवश्यक पर्छ । मेडिकल परीक्षणका लागि कर्णालीमा प्रयोगशाला छैन । त्यसैले खगेन्द्रको मेडिकल परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको थियो । मेडिकल रिर्पोटको आधारमै अदालतीय फैसला हुन्छ ।

रिर्पोट नेगेटिभ आए थुनामा रहेकाहरुले सफाइ पाउनसक्ने अवस्था अधिक हुन्छ । खगेन्द्रको स्वास्थ्य परीक्षण रिपोट समयमै नआउँदा उनको मुद्दा लम्बिरहेको थियो । सोही क्रममा गत साउन २५ गते बिहान खगेन्द्रकी आमा तुलसी अधिकारीको मोबाइलमा एउटा अपरिचित नम्बरबाट फोन आउँछ । फोनमा एक व्यक्तिले आफ्नो नाम पूर्णबहादुर देउवा भएको र आफू विधि विज्ञान प्रयोगशाला काठमाडौँ प्राविधिक प्रहरी नायव निरीक्षक (सई) भएको बताउँछन् ।

फोन गरेका व्यक्तिले आफूलाई प्रहरी सई बताएपछि तुलसी झस्किइन् । ती व्यक्तिले फोनमै तुलसीलाई भनेका थिए, ‘तपाईंको छोराको परीक्षण प्रतिवेदन पठाइदिन्छु, तपाईंले मेरो लेखापाल विकास बिसीको नाममा रहेको एनएमबी बैकको खातामा ५८ हजार रुपैयाँ जम्मा गर्दिनुहोस् ।’ छोराको परीक्षण प्रतिवेदन छिटो आउने आसमा तुलसीले छिमेकी भतिज नाता पर्ने केशवप्रसाद भट्टराईलाई ५८ हजार २ सय ३५ रुपैयाँ जम्मा गर्न लगाउँछिन् ।

तर महिना दिन बित्दा पनि परीक्षण रिपोट आएन । तुलसीले जिल्ला प्रहरी कार्यालय दैलेखमा पूर्णबहादुर र विकासले ठगी गरेको भन्दै उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही गरी पाऊँ भन्ने जाहेरी दिइन् । तुलसीको जाहेरी पछि दैलेख प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी गर्ने व्यक्तिहरूको अनुसन्धान थाल्यो । फोन ट्रेसिङ गर्दै जाँदा गत भदौ ५ गते दैलेख प्रहरीले लेखापाल बताउने खातावाला व्यक्ति बिसीलाई नियन्त्रणमा लिन्छ ।

उनकै सहारामा आफ्नो नाम पूर्णबहादुर देउवा भएको र आफू प्रहरी ‘सई’ भएको भन्दै ठगी गर्ने खाँणलाई पक्राउ गरेको थियो । लोकबहादुरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले भदौ १८ गते लेकवेशी नगरपालिका–२, दशरथपुरबाट पक्राउ गर्छ । आफ्नो नाम बदलेर ठगी गर्दै आएका लोकबहादुर नै उक्त ठगी घटनाका मुख्य योजनाकार थिए । त्यसको मोहोरा विकास बनेको अनुसन्धानका क्रममा खुलेको डिएसपी दाहाल बताउँछन् ।

अनुसन्धान गर्दै जाँदा लोकबहादुरले १६ जिल्लाका १८ जना व्यक्तिलाई नक्कली सई बनेर ठगी गरेको पाइएको डिएसपी दाहालले बताए । हालसम्मको अनुसन्धानबाट विभिन्न जिल्लाका १८ जना व्यक्तिहरूबाट मुद्दा मिलाई दिन्छु भन्दै ५ लाख ६ हजार ५३५ रुपैयाँ ठगी गरेको खुल्न आएको उनले बताए ।

उनीहरूले विभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परीक्षण गर्नु पर्नेहरूको पहिचान गर्दै तीनका आफन्तहरूबाट पैसा असुल्दै आएका थिए । उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा रोखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै
 

  • जिल्ला बाँके राप्ती सोनारी गाउपालिका वडा नं। ७ लालपुर बस्ने नर बहादुर खाणको छोरा बर्ष ३६ को लोक बहादुर खाणले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेहथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका व्यक्तिहरुलाई निजहरुको आफन्तको बिभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाई मानिस छुटाई दिन्छु भनी आफ्नो नाम पुर्ण बहादुर देउवा, बिनोद खाण नाम बताइ ‍‍‍….. नम्बरको मोबाईलबाट निजहरुलाई सम्पर्क गर्ने गरेको खुल्न आएको
  • हालसम्मको अनुसन्धानबाट बिभिन्न जिल्लाका १८ जना व्यक्तिहरुबाट मुद्दा मिलाई दिन्छु भनी नगद रु ५,०६,५३५ (पाँच लाख छ हजार पाच सय पैतीस) ठगी गरेको खुल्न आएकोमा थप अन्य व्यक्तिहरु समेत ठगिन सक्ने भएकोले त्यस तर्फ समेत अनुसन्धान भईरहेको, निज लोक बहादुर खाणले मोबाईलमा म बिधि बिज्ञान प्रयोगशालाको प्राबिधिक प्रहरी नायव निरीक्षक (सई) हुँ, तपाईको परिक्षण प्रतिवेदन पठाई दिन्छु र तपाईको मान्छे कारागार कार्यालयबाट छुटाई दिन्छुू भनी आफ्नो आफन्त र चिनजानका व्यक्तिहरुको खाता नं. दिई सोही खातामा रुपिया जम्मा गर्न लगाई ठगी गरेको भनी खुल्न आएको,
  • जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी न.पा.वडा नं. २ बस्ने बर्ष ५१ कि तुल्सी अधिकारीले मेरो छोरा खगेन्द्र अधिकारी जवरजस्ती करणी मुद्दामा दैलेख कारागारमा थुनामा रहेकोले निजको परीक्षण प्रतिवेदनको लागि मिति २०८१/०४/२५ गते बिहानको समयमा पुर्ण बहादुर देउवा नाम बताउने व्यक्तीले …… नम्बरको मोबाईलबाट मेरो …नम्बरकाे मोबाईलमा फोन गरी म बिधि बिज्ञान प्रयोगशालाको प्राबिधिक प्रहरी नायव निरीक्षक (सई) हुँ, तपाईको छोराको परिक्षण प्रतिवेदन पठाई दिन्छु, तपाईले मेरो लेखापाल बिकास बि.सी.को एनएमवी बैकको ०९९०१८७८८३००००१६ नम्वरको खातामा रुपियाँ जम्मा गरी दिनुहोस् भनेपछि मेरो छोराको उक्त परिक्षण प्रतिवेदन छिटो पठाईदेलान भन्ने विश्वासमा परी मैले उक्त खातामा छिमेकी भतिज केशव प्रसाद भट्टराईलाई नेपाली नगद रकम रु ५८,२३५ (अन्ठाउन्न हजार दुई सय पैतीस) जम्मा गर्न पठाएकोमा निजले उक्त परीक्षण प्रतिवेदन नपठाई निजले परिक्षण प्रतिवेदन पठाई दिन्छु भनि ठगी गरेको हुँदा निज पुर्ण बहादुर देउवा भनिने व्यक्ति विकास वि।सी समेतलाई पक्राउ गरी कानूनी कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त प्राप्त भएको,
  • सो घटनाको बारेमा अनुसन्धान गर्दै जाने क्रममा सो घटनामा संलग्न जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ६ बस्ने निरक बि.सी.को छोरा बर्ष २७ को विकास बि.सी. लाई यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८१/०५/३ गते बिहान १७:३० बजेको समयमा ऐ।ऐ। स्थित सडकखण्डमा हिडिरहेको अबस्थामा र जिल्ला बाँके राप्तीसोनारी गाउपालिका वडा नं. ७ लालपुर बस्ने नर बहादुर खाणको छोरा वर्ष ३६ को लोक बहादुर खाणलाई यस कार्यालय समेतको समन्वयमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०५/१८ गते राती २२: ३० बजेको समयमा जिल्ला सुर्खेत लेकवेशी न.पा. वडा नं. २ स्थित दशरथपुरबाट पक्राउ गरी निज प्रतिबादीहरुलाई सम्मानित दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस कार्यालयको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको।

प्रकाशित मिति : २०८१ भदौ २५ गते मंगलबार