२०८३ वैशाख १९ , शनिबार

सार्वजनिक शैक्षिक सुधारको योजना बनाइँदै



सुर्खेत। कर्णाली प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा सार्वजनिक शिक्षा सुधारको कार्य योजना बनाउन तीन दिनका लागि सम्मेलन सुरु भएको हो। सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान अवस्थामा लिएको जिम्मेवारी अनुसार निष्कर्ष निकालेर दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए।

अरूलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिन नपाइने धारणा राखे। उनले यो सम्मेलनबाट औँल्याएका प्रदेश सरकारका कमजोरीलाई सुधार गर्ने प्रतिबद्धता जनाए। यो अवधिमा राज्यको स्रोत साधन वितरणको थितिका बारेमा विश्लेषण गर्नुपर्ने भन्दै शैक्षिक विषयलाई साझा धारणा बनाएर सबैको दायित्व र जिम्मेवारी हुनुपर्ने गरी काम गर्न सुझाव दिए।

यस्तै प्रदेश सरकारको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालय सुधारका गतिविधि तदारुकताका साथ सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरे। उनले विद्यालयमा हुने राजनीतिक गतिविधिका कारण शिक्षिका अवस्था धुमलिएको प्रष्ट पारे।

विद्यालयमा स्थानीय पाठ्यक्रमले हाम्रो परम्परा हाम्रो संस्कृति जस्ता विषयलाई समेट्न भन्दा पनि आयातित संस्कृति तर्फ उन्मुख गराइरहेको बताए। शिक्षाका लागि राष्ट्रिय अभियानद्वारा आयोजित उक्त सम्मेलनमा शिक्षा सँग सरोकार राख्ने विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : २०८१ भदौ २५ गते मंगलबार