
कुलेन्द्र शाही, सुर्खेत
सुर्खेतको गुर्भाकोट नगरपालिकामा लामो समयदेखि सुरु गरिएको पक्की मोटेरेवल पुल निर्माणको काम अलपत्र परेको छ । गुर्भाकोट नगरपालिका ४ र ५ को सहारे स्वास्थ्य चौकी बेतेनी जोड्ने ७ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको मोटेरेवल पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो । पटक पटक म्याद थप हुँदा पनि ठेकेदारको लापरबाहीले मोटरेवल पुलको काम अलपत्र परेको स्थानीयको भनाइ छ ।
हालसम्म खम्बा (पिलर) लगायतका करिब ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सुरुमा २०७६ वैशाख ३० गते सक्ने गरी २०७४ भदौ २६ गते एडभेन्जर जेबी जेभी बाँकेसँग सम्झौता भएको थियो । सम्झौता भएको मितिमा थोरै काम भएपनि ठेकेदारले बिस्तारै काममा चासो नदिँदा उक्त काम अहिले अलपत्र परेको डिभिजन कार्यालयले जनाएको छ । अहिले पिल्लरका डण्डिमा खिया लागेको छ ।
पाँच पटक म्याद थप्दा पनि पुलको काम अपुरै
पुलको लागि सडक डिभिजन कार्यालय सुर्खेतले पाँच पटक भन्दा बढी म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले पुलको कामबिचमै अलपत्र छोडेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले ठेकेदार कम्पनीसँग करिब ५ पटक म्याद थप गर्दा पनि काम पुरा भएको छैन । कार्यालयले कम्पनीसँग सुरुमा २०७४ मा सम्झौता गरेको थियो ।
यसरी निरन्तर पाँच पटक म्याद थप गर्दै गर्दा डिभिजनले २०८१ वैशाख २ गते सक्ने गरी सम्झौता गरेको थियो । तर पाँचौँ पटक सम्झौता गरे पनि ठेकेदारले चासो नदिँदा पुलको काम अलपत्र परेको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले गुनासो गरे । उनले आफूहरूले कम्पनीलाई काम गर्न अनुरोध गर्दै ५ पटक भन्दा बढी पत्र पठाइसकेको खबरदृष्टिलाई जानकारी दिए ।
‘हामीले काम गर्नुस् भनेर मात्रै ५ पटक भन्दा बढी पत्र पठायौँ, मौखिक त कति पटक भन्यौँ तर पनि ठेकेदार कम्पनीले कुनै चासो देखाएन’ उनले भने, ‘काम गर्छौ मात्रै भन्ने गरेको जस्तो गर्ने तर पुरा काम कहिले नगर्ने हुँदा अब हामीले ठेक्का तोड्न अथवा कम्पनीलाई कारबाही गर्ने हो । यसबारेमा छलफल गर्छौ ।’
अधिकारी पौडेलले म्याद सकिएको ६ महिनासम्म पनि कार्य प्रगति हेरेर सबै प्रक्रिया अगाडि बढाउने बताए । ‘ठेकेदारले म्याद सकेको ६ महिनासम्म पनि काम गर्न सक्छन् । उनले भने, ‘हामीले पनि ६ महिनासम्म कुर्छौ । काम भयो भने ठिक छ नत्र केही प्रक्रिया अगाडी बढाउँछौँ ।’
४ करोड लागतको पुलमा २ करोड बढी रकम सकियो
कार्यालयले ठेकेदार कम्पनीसँग सुरुमा ४ करोड ३० लाख ९७ हजार ८ सय ४३ रुपैयाँमा २ वर्षभित्रमै काम सक्ने गरी सम्झौता गरेको थियो । ४ करोड लागतको पुलमा ठेकेदार कम्पनीले २ करोड बढी रकम लिइसकेको छ । सूचना अधिकारी पौडेलले ५५ प्रतिशत काम सकेर २ करोड ७६ लाख ३९ हजार ६ सय ३१ रुपैयाँ लगिसकेको खबरदृष्टिसँग बताए ।
२ करोड बढीको काम भएको छ भन्ने प्रश्नमा पौडेलले काम अनुसार नै रकम लिएको दाबी गरे । ठेकेदार कम्पनीले गत वर्ष असोजमा मात्रै ३५ लाख बराबरको काम गरेर २० लाख रकम भुक्तानी पाएको छ । ‘गत वर्ष हामीसँग २० लाख रकम मात्रै बजेट थियो,’ उनले भने ‘कम्पनीले ३५ लाख जतिको काम गरेको रहेछ । पछि पैसा छैन भन्दै २० लाख रकम लिएर काम गरेको छैन । काम गरेको भए हामी रकम मिलाउने थियौँ कामै गर्दैन ।’
मेयर दिक्क, ठेक्का रद्द गरिदिन डिभिजनलाई पठाए पत्र
लामो समयसम्म पनि ठेकेदार कम्पनीले काम नगरेपछि स्थानीय र जनप्रतिनिधि दिक्क भएका छन् । पटक पटक म्याद थप हुँदा पनि अनेकौँ बहाना गरेर ठेकेदार कम्पनीले काम नगरेपछि आफूहरू दिक्क भएर ठेक्का रद्दको माग गरेको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बताए । ‘पटक पटक म्याद थप भयो ठेकेदारले काम गरेको जस्तो गर्ने तर काम कहिले नगर्ने हुँदा अति भएर हामीले ठेक्का रद्दको माग गर्दै डिभिजन कार्यालय पत्र पठाएका छौ ।’ नगरप्रमुख पुनले भने ‘अब कार्यालयले ठेक्का रुद्ध गरेर छिट्टै नयाँ कम्पनीसँग सम्झौता गर्नुपर्छ ।’
नयाँ कम्पनीसँग सम्झौता गरेर पुल निर्माणको काम छिटो सक्न उनले डिभिजन कार्यालयलाई आग्रह गरेका छन् । ‘पानी नपरेको दिनमा सवारी साधन चलेपनि बर्खामा यातायात ठप्प भइहाल्छन्’ उनले भने ‘छिट्टै नयाँ ठेकेदारसँग सम्झौता भएर काम अगाडि बढोस् मेरो आग्रह छ ।’ यता, अधिकारी पौडेलले भने पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोड्ने वा सोही निर्माण कम्पनीबाट काम अघि बढाउने भन्नेमा अन्योल देखिएको छ ।
उपसभापति खड्का र पुर्वमन्त्री पोखरेलसमक्ष हारगुहार
गुर्भाकोटका नगरप्रमुख पुनले ठेक्का रुद्ध गरिदिन प्रतिनति सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर १ सुर्खेतका सांसद पूर्णबहादुर खड्का र कर्णाली प्रदेश सभा सदस्य, निर्वाचन क्षेत्र नम्बर १ (क) का सांसद खड्गबहादुर पोखरेललाई समेत आग्रह गरेका छन् । उनले ठेकेदारको लापरबाहीले काम सम्पन्न नभएपछि ठेक्का रुद्ध गरिदिन काँग्रेस उपसभापति खड्का र पूर्व सामाजिक विकास मन्त्री खड्का पोखरेललाईसमेत आग्रह गरेका हुन् ।
उनले २१ गते पठाएको पत्रमा लेखेका छन् ‘सहारे स्वास्थ्य चौकी बेतेनी जोड्ने मोटेरेवल पुल व्यवसायी एडभेन्जर जेबी जेभी बाँकेसँग मिति २०७४/०५/२५ मा सम्झौता भई पटक पटक म्याद थप गरेर पनि अन्तिम पटकको म्याद समेत सकिएको र कार्य प्रगति नदेखिएको, त्यसै गरी काल्चे घारीबन छिन्चु सडक निर्माण व्यवसायी कन्काकी गणपति जेभी काठमाडौँसँग मिति २०७९/०१/०२ मा सम्झौता भई २०८१/०६/३० सम्म सम्पन्न गरिसक्नु पर्नेमा हाल सम्म पनि खासै कार्य प्रगति (६% मात्र भएको) देखिएको, पटक पटक निर्माण व्यवसायी र कार्यालयमा मौखिक ताकेता गर्दासमेत काम गर्न नसकेको र आगामी दिनमा समेत उक्त निर्माण व्यवसायीहरूले काम सम्पन्न गर्न सक्ने कुनै आधार नदेखिएको साथै त्यस क्षेत्रका जनताले यातायात सुविधाबाट कष्टकर सास्ती भोग्नु परेको अर्कोतर्फ राज्य श्रोतको चरम दुरुपयोगका साथै लापरबाही समेत भएको हुँदा उक्त निर्माण व्यवसायीसँग भएको सम्झौता यथाशीघ्र रुद्ध गरी पुनः ठेक्का टेन्डर आवह्मन गरी कार्य सम्पन्न गर्न अनुरोध गर्दछु ।’
उपसभापति खड्का र पूर्व मन्त्री तथा पोखरेलेको समेत पुल अलपत्र परेको निर्वाचन क्षेत्र एउटै हो । उनीहरू प्रदेश तथा सङ्घीय मन्त्री भइसक्दा पनि पुल निर्माणमा उनीहरूले चासो नदिएको भन्दै काँग्रेस नेता तथा कार्यकर्ताको समेत आक्रोश छन् । समयमै पुलको निर्माण कार्य पुरा नहुँदा अहिले त्यहाँका स्थानीय बासीलाई निकै सास्ती भएको छ । यस विषयमा कम्पनीका ठेकेदार यज्ञ केसीसँग बारम्बार सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्ब हुन सकेन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
