सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३, मा रहेको प्रशान्ति वृद्धाश्रम सञ्चालनमा दाताहरूकै भर पर्नुपर्ने बाध्यता छ । ज्येष्ठ नागरिकप्रति राज्यको चासो नभएपनि सहारा विहीन ज्येष्ठ नागरिकको दैनिकी विभिन्न सामाजिक सङ्घ संस्था तथा दाताले दिने सहयोगले चल्ने गरेको छ । असक्त तथा बेसहारा ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको वृद्धाश्रमलाई नेपाली सेनाले निःशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयोग गरेको छ ।
शनिवार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर तथा यस अन्तर्गतका युनिटबाट सङ्कलित खाद्य सामाग्री राहतस्वरुप आश्रमलाई हस्तान्तरण गरिएको हो । उक्त उक्त सामाग्री उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथि अनुपजंग थापा र सैनिक श्रीमती सङ्घका सल्लाहकार भावना राज्यलक्ष्मी थापाले अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
खाद्य सामाग्री हस्तान्तरण पछि बोल्दै उपरथि थापाले ज्येष्ठ नागरिकको संरक्षण र सम्वद्र्धनमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरेको बताए ।हरेक सुख दुखमा नेपाली सेना साथमा रहेको उल्लेख गर्दै उनले भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने बताए । सेनाले खाद्य बैङ्क स्थापना गरी मानवलाई आश्रय दिइरहेका विभिन्न सामाजिक संस्थालाई प्रत्येक युनिटले एक व्यक्तिका लागि आवश्यक पर्ने खाद्य सामाग्री व्यवस्थापन गरी हस्तान्तरण गर्दै आएको छ ।
सोही अनुरूप चामल, दाल, नुन, तेल, तरकारी, मसला, चिया पत्ति, बिस्कुट लगायतका खाद्य सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको थियो । यस्तै, सेनाले हरेक महिनाको अन्तिम शनिवार आश्रममा रहेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्ने कार्यपालिका अनुसार आश्रममा आश्रित २९ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधी वितरणसमेत गरेको छ । सेनाले गरेको स्वास्थ्य जाँचमा अधिकांशमा मानसिक समस्या, हाडजोर्नी दुख्ने लगायतका दीर्घ रोग देखा परेको छ ।
२०५४ सालमा स्थापना भएको आश्रमले विभिन्न कारणले समाज तथा परिवारबाट अलग भई कष्टकर जीवन बिताउन बाध्य २९ जना ज्येष्ठ नागरिकको पालन पोषणको काम गर्दै आएको छ । सन्तान नभएका, भएका पनि सम्पर्कमा नभएका, अंशबन्डाको मुद्दा तथा उमेरसँगै आउने शारीरिक अशक्तताले सिर्जित समस्याका कारण अधिकांश ज्येष्ठ नागरिक वृद्धाश्रमसम्म पुग्ने गरेको वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ बताउँछन् ।
घरपरिवारको सहारा नपाएपछि आश्रमको सम्पर्कमा आउने ज्येष्ठ नागरिकलाई परिवारसँगको परामर्शमा पुनः मिलन गराउने गरिएको उनले बताए । आश्रमको सञ्चालन तथा व्यवस्थापनमा सरकारको केही हदसम्म सहयोग भए पनि त्यो प¥याप्त भने छैन । यसमा राज्यका तीनै तहका सरकारले खासै ध्यान दिन सकेका छैनन् । आश्रम सञ्चालनका लागि एक करोड ३५ लाखको अक्षयकोष स्थापना गरिएको छ ।
सोही अक्षयकोषबाट प्राप्त हुने व्याज तथा विभिन्न सामाजिक सङ्घसंस्थाको मुठ्ठीदानबाट आश्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसका लागि एक सय दुई जनाले अक्षयकोष स्थापना गरिदिएका छन् । यसका अलवा आश्रमले विभिन्न विद्यालयमा मुठ्ठी दान सङ्कलनको अभियानमार्फत परिवारबाट बिछोड भई कष्टकर जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको छ ।