२०८३ वैशाख ११ , शुक्रबार
अलपत्र पुल फलोअप

कार्यालयले पठायो ठेकेदारलाई अल्टिमेटम



कुलेन्द्र शाही, सुर्खेत

सुर्खेतको गुर्भाकोट नगरपालिकामा लामो समयदेखि सुरु गरिएको पक्की मोटेरेवल पुल निर्माणको काम अलपत्र परेपछि सडक डिभिजन कार्यालय सुर्खेतले ठेकेदार कम्पनीलाई सात दिने पत्र पठाएको छ । खबरदृष्टिले गत बुधवार ‘गुर्भाकोटमा मोटेरेवल पुल अलपत्र,दुई वर्षमा बनाउने सम्झौता, सात वर्षमा पनि भएन पूरा’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन गरेकाे दुई दिनपछि डिभिजन कार्यालयले एडभेन्जर जेबी जेभी बाँकेका सञ्चालक यज्ञ केसीलाई सात दिनभित्र कार्य तालिका पेस गर्न अल्टिमेटम दिएको हो ।

कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले ठेकेदार कम्पनीलाई सात दिन भित्र आफ्नो काम गर्ने कार्य तालिका पेस गर्न अल्टिमेटम पत्र पठाएको जानकारी दिए । ‘हामीले शनिवार मात्रै कम्पनीलाई सात दिनभित्र आफ्नो कार्य तालिका पेस गर्न एउटा पत्र पठाएका छौँ,’ उनले भने, ‘अबको सात दिन भित्र कार्य तालिका पेस नगरेमा हामी ठेक्का रद्द गरेर अन्य प्रक्रिया अगाडि बढाउँछौ ।’ कार्य तालिकामा आफूले काम गर्ने समय, ढिलाइ भएको स्पष्टीकरण लगायतका लिखित कागजात पेस गर्नुपर्नेछ ।

सूचना अधिकारी पौडेलले सोही निर्माण कम्पनीले काम गरेमा पुल छिट्टै बन्ने दाबी गर्छन् । ‘यही कम्पनीले काम गरेको भए छिट्टै पुल बन्ने थियो, ठेक्का रद्द गरेर पनि तत्कालै नयाँ ठेक्का आह्वान गर्ने हुन्न यसको धेरै कानुनी प्रक्रिया हुन्छ ।’ उनी भन्छन्, ‘ नयाँ ठेक्का सम्झौता भएमा पुल बन्न अझै दुई वर्ष बढी लाग्न सक्छ ।’ गुर्भाकोट नगरपालिका ४ र ५ को सहारे स्वास्थ्य चौकी बेतेनी जोड्ने ७ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको मोटेरेवल पुल ठेकेदार कम्पनीले निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको छ ।

पटक–पटक म्याद थप हुँदा पनि ठेकेदारको लापरबाहीले मोटेरेवल पुलको काम अलपत्र परेको स्थानीयको आरोप छ । हालसम्म दुई वटा खम्बा ९पिलर० बनाउने बाहेक अरू काम भएको छैन । सुरुमा २०७६ वैशाख ३० गते सक्ने गरी २०७४ भदौ २६ गते एडभेन्जर जेबी जेभी बाँकेसँग सम्झौता भएको थियो । सम्झौता भएको मितिमा थोरै काम भए पनि ठेकेदारले बिस्तारै काममा चासो नदिँदा उक्त काम अहिले अलपत्र परेको डिभिजन कार्यालयकै दाबी छ ।

सात वर्षमा बनाएका पिल्लर लगायत सरियाका डण्डीमा समेत खिया लागेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले ठेकेदार कम्पनीसँग करिब ५ पटक म्याद थप गर्दा पनि काम पुरा हुन सकेको छैन । कार्यालयले कम्पनीसँग सुरुमा २०७४ मा सम्झौता गरेको थियो । यसरी निरन्तर पाँच पटक म्याद थप गर्दै गर्दा डिभिजनले २०८१ वैशाख २ गते सक्ने गरी सम्झौता गरेको थियो । तर, पाँचौँ पटक सम्झौता गरे पनि ठेकेदारले चासो नदिँदा पुलको काम अलपत्र परेको कार्यालयका कर्मचारीकै गुनासो छ ।

ठेकेदारको लापरबाही, स्थानीय उपसभापति खड्कालाई सराप्दै
गुर्भाकोट नगरपालिका–५ र ४ का स्थानीय ७ वर्ष सम्म पनि पुल नबन्दा निकै आक्रोशमा छन् । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा त्यहाँका स्थानीय पूर्व उपप्रधान तथा रक्षा मन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग आक्रोशित छन् । गुर्भाकोट–५ का नरबहादुर खड्काले उपसभापति खड्काका कारण यो पुल बन्न नसकेको आरोप लगाए ।

उनले उपसभापति खड्काले आफूहरूलाई भोट बैङ्कका रूपमा स्थापित गरेको बताए । खडकाले ४ र ५ जोडने मोटेरेवल पुल मनाङ र मुस्ताङ जस्तै भएको गुनासो गरे । ‘उपसभापति खडका हाम्रो आस र भरोसा लाग्दो नेता थिए । तर, पछिल्लो समय हामीलाई भोट बैङ्क मात्रै बनाउन थाले,’ उनले भने,‘ पूर्णबहादुर खड्काका कारण पुल बन्न सकेको छैन। तपाईँले माओवादी महासचिव जनार्दन शर्माबाट केही कुरा सिकेर मात्रै ८४ मा हाम्रो गाउँ आउनुहोला ।’

यस्तै अर्का स्थानीय अटो चालक देवबहादुर परियारले पुल नहुँदा आफूहरूले यहाँका स्थानीयहरूको सामान बिच बाटोमै झार्नुपर्ने बाध्यता भएको दुखेसो पोखे । उक्त गाउँमै किराना पसल गरिरहेका बलबहादुर वलीले ४ नम्बरबाट ५ नम्बरमा भरिया लगाएर सामान लिनुपरेको बताए । ‘बजारदेखि अटोमा पुलसम्म सामान ल्याउँछौ,’ उनले भने, ‘पुल नहुँदा सामान भरिया लगाएर विद्यार्थीको सहयोग मागेर लिनुपर्ने बाध्यता छ । तत्काल भन्दा तत्काल यो पुल बनाउन सबै निकायलाई अनुरोध गर्छु । यस्तो समस्या भएको ३० वर्षभन्दा बढी भइसकेको छ,’ उनले भने। समयमै पुल निर्माण नहुँदा स्थानीय बासीलाई निकै सास्ती भएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

दुई वर्षमा बनाउने सम्झौता, सात वर्षमा पनि भएन पूरा

प्रकाशित मिति : २०८१ भदौ ३१ गते सोमबार