
कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली (डिसी)
सल्यान। सल्यानको कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली (डिसी) शी लिड्स आईकनको उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी छन् । उपाध्यक्ष सनसिल्ता शी लिड्स आईकनको टप २४ मा छनौट भएकी हुन ।
शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरुमध्ये सर्टलिस्टमा उपाध्यक्ष सनसिल्ता छनौट भएको गाउँपालिकाले जनाएको छ। गत सोमबार देशभरका १ सय ४० जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर टप २७ को लिष्ट सार्वजनिक गरेको थियो ।

जसमा तीनजना प्रमुख र बाँकी उपप्रमुख रहेका छन्। सनसिल्ता वली डिसीको जन्म मध्यम वर्गीय परिवारमा भएको हो। उपाध्यक्ष हुनुअघि उनी शिक्षण पेशामा संलग्न थिईन। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएको र २०७९ मा अध्यक्षको चाहना राखेपनि पार्टीले उनलाई पुनः उपाध्यक्षमा दोहोर्याएको थियो।
आगामी असोज १५ गतेसम्म अफलाइन (मोबाईल) बाट एसएमएस र इ-सेवामा शी लिड्स एप्लिकेसनमा गएर उनीलाई भोट गर्न सकिनेछ । अफलाइन माध्यमबाट भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गई sli<space>२४ टाईप गरी ३१००३ मा पठाउन सकिनेछ । यस्तै, अनलाइन माध्यमबाट भोट गर्न इ-सेवा एपको भोटिङ भित्र गएर शी लिड्स आइकन भित्रबाट पनि भोट गर्न सकिनेछ।
सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । आयोजकले जानकारी दिएअनुसार निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेका छन् ।
सर्टलिस्ट भएका २७ महिला जनप्रतिनिधिहरुमा २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।