
कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको भेरीगंगामा एक सामुदायिक विद्यालय भत्किएको दुई वर्षसम्म पनि बन्न सकेको छैन । रत्न राजमार्गको छेउमै रहेको भेरीगंगा नगरपालिका–२ स्थित सामुदायिक माध्यमिक विद्यालय सनिमोर भत्केको दुई वर्षसम्म पनि बन्न नसकेको हो । कर्णाली प्रदेशको राजधानीदेखि १९ किलोमिटर टाढा रहेको उक्त विद्यालय भत्किएको दुई वर्ष बितिसक्दा पनि सरकारको ध्यान जान सकेको छैन ।
२०७९ असार र असोजमा आएको अविरल वर्षाले विद्यालयको ४ कोठे भवन भत्काएको थियो । तर भत्किएको दुई वर्षा बित्दा पनि स्थानीय सरकारलगायत सरोकारवाला निकायले ध्यान नदिँदा उक्त विद्यालय भवन बन्न नसकेको विद्यालय प्रधानाध्यापक देविका सिंह ठकुरीले गुनासो गरिन् । उनले भत्किएको भवन मात्र नभई अन्य भवन पनि जीर्ण अवस्थामा रहेको बताइन् ।
प्रअ सिंहले आफूले भत्केको केही समयमै मुचुल्का लगायतका प्रक्रिया पुरा गरेर सामाजिक मन्त्रालयमा बुझाउँदा पनि कुनै सुनुवाइ गरेको बताइन् । ‘भत्केको केही समयमै मुचुल्का गरेर दुई पटक बढी सामाजिक मन्त्रालयमा पठाए, तर पनि कुनै सुनुवाइ भएन । उनले खबरदृष्टिसँग भनिन्, ‘यहाँ त राजनीतिक हेरिन्छ, यदि राजनीतिक नहेरिने भए हाम्रो यो विद्यालय उहिल्यै बनिसक्थ्यो ।’ राजमार्गकै छेउको विद्यालय उपेक्षामा परेको बताउँदै यस विद्यालयलाई कुनै पनि सङ्घ संस्थाको सहयोग नभएको गुनासो गरिन् ।
एउटै कोठामा ३ कक्षासम्मका विद्यार्थी
सनिमोर विद्यालयको ४ कोठे भवन भत्किएपछि एउटै कोठामा ३ कक्षासम्मका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता छ । विद्यालय भवन भत्किएको लामो समय भइसक्दा पनि सरकारले चासो नदिँदा पानी परेको समयमा एउटै कोठामा बाल शिक्षादेखि २ कक्षा सम्मका विद्यार्थी राखेर पढाउनु परेको प्रअ सिंहको भनाई छ ।
उनले घाम लागेको दिनमा बाहिर खुल्ला चौरमा राखेर पढाए पनि पानी परेको समयमा ३ कक्षाका विद्यार्थीहरू एउटै कोठामा राखेर पढाउनु परेको गुनासो गरिन् । ‘घाम लागेको दिनमा खुल्ला चौर छ त्यसैमा राखेर हामी पडाउँछौँ, तर पानी परेको दिनमा त ३ कक्षासम्मका विद्यार्थीहरू एउटै कोठामा राखेर पढाउनु परेको छ ।’ उनले भनिन्, ‘शिक्षण सिकाइमा कुनै पनि समस्या छैन तर भवनको निकै आवश्यक छ ।’

उक्त विद्यालयमा अध्ययनरत छात्रा जानकी शाहीले पर्याप्त कक्षा कोठा नहुँदा आफूहरूलाई पढ्नमा निकै असहज भएको बताइन् । उनले पानी परेको दिनमा एउटै कोठामा धेरै कक्षाका विद्यार्थी बस्दा पढाएको कुरा बुझ्न समस्या हुने गरेको गुनासो गरिन् । उनले विद्यार्थी संख्या बढी हुँदा निकै होहल्ला हुने र कक्षामा सिकाईको वातावरण नै नहुने गरेको बताइन । ‘घाम लागेको दिनमा बाहिर बस्छौँ केही समस्या हुँदैन । पानी परेको दिनमा एउटै कोठामा बस्दा पढाएको केही बुझिदैन् ।’ उनले भनिन्, कहिले काहीँ त विद्यालय पनि आउन मन लाग्दैन ।’
अर्का दश कक्षामा अध्ययनरत दीपक ओलीले एउटा भवन भत्केको बताउँदै अरू भएको भवन पनि जीर्ण, पानी चुहिएर बस्ने मिल्ने अवस्थामा नभएको बताए । ‘एउटा भवन भत्किएको थियो ठिकै छ, अरू भएका भवन पनि चुहिएर बस्न मिल्ने पनि हुन्न, माथिबाट पानी चुहिएको हुन्छ, भित्रै छात्रा ओढेर बस्नुपर्ने बाध्यता छ ।’ उनले तत्कालै विद्यालय भवन निर्माण गरिदिन विभिन्न निकायलाई आग्रह गरेका छन् । भवन अभावमा एउटै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्दा विद्यार्थीको सिकाई प्रभावित भएको शिक्षकहरू बताउँछन ।
भवनसँगै पानीको अभाव उस्तै
विद्यालय भवन जीर्ण, कक्षा कोठाका साथै विद्यालयमा पानीको समेत अभाव रहेको छ । विद्यालयकी प्रअ सिंहले विद्यालयमा भवनसँगै पानीको समेत अभाव भएको गुनासो गरिन् । ‘विद्यालयमा भवन त अभाव थियो थियो यहाँ त पानीको समेत निकै अभाव छ ।’ उनले खबरदृष्टिसँग भनिन्, ‘हामीले खोलाको पानी ल्याएर विद्यार्थीलाई दिने गरेका छौँ त्यही पानी पनि दैनिक रूपमा आउँदैन।’ यस्तै कक्षा १० मा अध्ययनरत छात्रा भावना वलीले भौतिक संरचना नाजुक भएको बताउँदै पानीको समेत यहाँ अभाव भएको गुनासो गरिन् ।

उनले घरबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको बताइन् । ‘हामीले घरबाट पानी बोकेर ल्याउँछौ । सधैँ पानी बोकेर ल्याउन पनि सकिदैन् । विद्यालयमा पानी हुँदैन ।पानी तिर्खाले दैनिक जसो छटपटाउनु पर्छ ।’ उनले भनिन्, ‘सानो कक्षाका भाइबहिनीहरू हामीलाई पानी छ कि दिनु भन्नुहुन्छ । हामी घरबाट ल्याएको पानी दिन्छौ ।’ यो विद्यालयमा त यस्ता कति समस्या छन् विद्यालय सम्झिँदा यहाँ आउनै मन लाग्दैन ।’ विद्यालयमा कार्यरत अर्का एक जना शिक्षकले खोलाको पानी भए पनि निकै धमिलो भएको बताए ।
‘बजेट मागका लागि बारम्बार पत्र पठाए सुनुवाइ भएन’
विद्यालय भवन निर्माणका लागि प्रदेशदेखि केन्द्रसम्म बारम्बार खबर गरे पनि कुनै सुनुवाइ नभएको विद्यालय प्रशासनको भनाइ छ । यस्तै भेरीगंगा–२ का वडाध्यक्ष चिरञ्जीवी बुढाले विद्यालय भवन निर्माणका लागि बारम्बार खबर गरे पनि कुनै सुनुवाइ नभएको दाबी गरे । उनले सामाजिक विकास मन्त्रालयमा दुई पटकभन्दा बढी बजेट मागको लागि पत्र पठाए पनि त्यसको कुनै जानकारी नआएको बताए । यस्तै भेरीगंगा नगरपालिकालाई समेत भवन निर्माणको लागि बजेट माग गर्दा भएको बजेट पनि अन्य ठाउँमा रकमान्तर गरेको आरोप लगाए ।
‘मैले यस वर्ष बजेट निर्माणका क्रममा उक्त विद्यालयको भवन निर्माणका लागि बजेट समावेश गरिदिनका लागि नाम सिफारिस गरेको थिए, तर नगरप्रमुख ज्युँले यहाँकै अर्को विद्यालयको नाम प्रदेशमा पठाउनु भएछ ।’ उनले भने, ‘अहिले अर्को विद्यालयको नाममा रकम आएको छ ।’ वडाध्यक्ष बुढाले थपे, ‘यो विद्यालयमा निकै आवश्यकता थियो तर मेयर सावले राजनीतिक विषय जोडेर अर्को विद्यालयको नाम पठाउनु भएछ । मिल्छ भने त्यो विद्यालयमा आएको रकमले यस विद्यालयको भवन निर्माण गर्दा राम्रो हुन्छ होला ।’
उनले वडाबाट उक्त विद्यालयका लागि करिब ५ लाख रकम छुट्टाएको जानकारी दिए । यता नगरप्रमुख यज्ञप्रसाद ढकालले भने वडाध्यक्षले भनेको कुरा सबै गलत भएको बताए । उनले आफूले सबै विद्यालयको लागि बजेट मागेका र केही विद्यालयको लागि मात्रै रकम आएको बताए । ‘मैले यहाँका सबै विद्यालयका लागि रकम माग गरेको हो, तर केही विद्यालयको नाममा मात्रै रकम आएछ धेरै विद्यालयको नाम छुटेको छ ।’ नगरप्रमुख ढकालले भने, ‘अर्को विद्यालयमा आएको रकम उक्त विद्यालयमा दिन मिल्दैन त्यो केटाकेटीको भाडाकुटि खेल्ने जस्तो हुन्छ ।’
उनले अब अब राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट उक्त विद्यालयको लागि रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । यता सामाजिक विकास मन्त्रालयले उक्त विद्यालयका कुनै पनि बजेट विनियोजन नगरेको जानकारी दिएको छ । हाल उक्त विद्यालयमा करिब २ सय १३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कर्णालीका अधिकांश सामुदायिक विद्यालयको अवस्था नाजुक छ । यसैका कारण कर्णालीको समग्र शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको बुझाइ छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
