
सल्यान । कुमाख गाउँपालिकाका युवाहरूले कुमाख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आइतबार दिउँसो गरिएको यो विरोध प्रदर्शन नियमित सेवा र कार्य सम्पादनमा ढिलाइ र लापरबाहीको विरोधमा गरिएको हो ।
युवाहरूले अध्यक्ष र उपाध्यक्षलाई ध्यानाकर्षण गराएका विषयमा बेवास्ता गरिएको भन्दै नाराबाजी गरेका थिए । केही युवाले कार्यालयका कर्मचारीमाथि हातपात पनि गरेका थिए । तालाबन्दीका क्रममा उनीहरूले कर्मचारीलाई जबर्जस्ती बाहिर निकाल्दै कार्यालयको सेवा अवरुद्ध गरेका थिए । युवराज खड्गाले निष्पक्ष र प्रभावकारी सेवा नदिएको साथै आफुहरुले राखेका माग पूरा नगरेकाले यो कदम चालिएको बताए । उनले माग पूरा नहुँदासम्म ताला नखोल्ने बताए ।
युवाहरूको समूहले पालिकाको गेटमै ताला लगाएको थियो । जसलाई प्रहरीले तोडेर कार्यालयमा प्रवेश गरेपछि तालाबन्दी गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी, प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले कार्यालयको सेवा सुचारु गराएको जानकारी दिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काले केही युवाले कार्यक्रमको प्रस्ताव राखेका र समयमै गाउँसभा हुन नसक्दा मागको कार्यान्वयनमा ढिलाइ भएको कारण आवेशमा तालाबन्दी भएको बताएका छन् । यस विषयमा सोमबार छलफलमा बस्ने सहमति भएको पनि उनले जानकारी दिएका छन् । युवाहरूले कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी दिएका छन् ।