सुर्खेत । विशेष अदालत काठमाडौँले हुम्लाको चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाईंसहित ९ जनालाई भ्रष्टाचारको आरोपमा सफाइ दिएको छ। न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई दोषी ठहर गर्नका लागि पर्याप्त प्रमाण नपाएको भन्दै सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत १ गते धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
चंखेली गाउँपालिका वडा नम्बर-३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा २०७४/०७५ मा छुट्टाइएको रकम अनियमितता गरिएको अख्तियारको दाबी थियो। यस योजनामा १० लाख ३० हजार दुई सय १७ रुपैयाँको अनियमितता भएको आरोप लगाइएको थियो।
हालका लागि उनीहरू भ्रष्टाचारको आरोपबाट उन्मुक्ति पाएका छन् भने विशेष अदालतले यस आयोजनामा भ्रष्टाचार भएको पुष्टि हुन नसकेको बताएको छ।