२०८३ वैशाख ११ , शुक्रबार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : खेलकुदमन्त्री चौधरी



सुर्खेत । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने जानकारी दिएका छन्। सोमबार सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री चौधरीले भौतिक पूर्वाधार निर्माणको क्रममा रहेकाले प्रतियोगिता निर्धारित मितिमा गर्न नसक्ने बताएका हुन्।

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, तर पूर्वाधार निर्माणको प्रगति भएपछि अब यो फागुनमा गर्नेछौँ,’ उनले भने। खेलाडीहरूलाई तयारीमा जुट्न आग्रह गर्दै उनले कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने कारण फागुनमा प्रतियोगिता आयोजना गर्न योजना बनाइएको स्पष्ट पारे।

मन्त्री चौधरीले चिसो मौसममा बसोबासको समस्या हुने भएकाले फागुनमा चिसो कम हुने अपेक्षामा प्रतियोगिता आयोजना गर्ने बताएका छन्। ‘अहिलेकै अवस्थामा प्रतियोगिता गर्ने अवस्था छैन,’ उनले थपे। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा आयोजना गर्ने घोषणा गरेको थियो।

सो अवसरमा मन्त्री चौधरीले सरकारी कार्यालयका कर्मचारीलाई जनताको चाहनाअनुसार काम गर्न निर्देशन दिँदै, ‘तपाईंहरू समयमै कार्यालयमा आइदिनुहोस् र जनताको काम गरेर जानुहोस्,’ भने। उनले कर्मचारीहरूलाई आफ्नो दायित्व निभाएर छिटो र प्रभावकारी ढंगले काम गर्न आग्रह गरे।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार