२०८३ वैशाख ९ , बुधबार

भेरीगंगामा सिलाई मेशिन मर्मत तालिम सुरु, व्यवसायीहरू उत्साहित



विनाेद घिमिरे, भेरीगंगा । भेरीगंगामा ७ दिने सिलाई मेशिन मर्मत तालिम बुधवारबाट सुरु भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा सात दिने तालिम सुरु भएको हो । तालिममा १५ जना सिलाई व्यवसायीहरूले सहभागिता जनाएका छन् । भेरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलका अनुसार व्यवसायीहरूलाई काममा सहज गराउन उक्त तालिमको आयोजना गरिएको हाे ।

सहभागी सबै व्यवसायीहरूले तालिमबाट भरपुर ज्ञान प्राप्त गर्नुका साथै यस ज्ञानलाई सदुपयोग गर्दै व्यवसायलाई थप सहज बनाउन सक्ने आग्रह गरे । तालिममा विशेष गरी महिलाहरूले सहभागी जनाएको बताए । भेरीगंगा नगरपालिका उप–प्रमुख धनसरा बोहोराले सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुलो दुख र क्षति व्यवसायीहरूले बेहोर्नु पर्ने भन्दै यो तालिम उनीहरूका लागि विशेष उपलब्धि रहने जनाइन् ।

सिलाई कटाई सम्बन्धी तालिमहरू विगतदेखि नै दिइँदै आएता पनि मर्मत सम्बन्धी तालिम भने पहिलो पटक उपलब्ध गराउन सफल भएको जनाइन् । त्यस्तै उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीले बजारमा सिलाई व्यवसायीहरू मात्रै उत्पादन गर्नु भन्दा पनि त्यस विषयसँग सम्बन्धित समाग्रीहरुको बारेमा पनि जानकारी गराउनु पर्ने आवश्यक रहेको जनाइन् । सोही अनुसार व्यवसायीहरूलाई आफूले प्रयोग गर्ने प्रविधिहरूमा जानकारी राख्न यो तालिम निकै फलदाईमुलक रहेको समेत बताइन् ।

सात दिने मेशिन मर्मत तालिमले आफ्नो व्यवसायमा सहज बनाउनेको भन्दै तालिममा सहभागी व्यवसायीहरू उत्साहित देखिएका छन् । तालिममा सहभागी व्यवसायीहरूले यसलाई भरपुर प्रयोग गरेर पेसालाई थप सहज बनाउने र आर्थिक आम्दानीलाई उच्च बनाउने उद्देश्य लिएका छन् । तालिमको प्रशिक्षण चित्र बहादुर परियार दिएको उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार