२०८३ कात्तिक ९ , आइतबार

महावै गाउँपालिकाको अवस्था देख्दा मन छोयो : निर्मला शाही



जगदिश शाही

कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टीकी कर्णाली प्रदेश सदस्य निर्मला शाहीले कालिकोट जिल्लाको महावै गाउँपालिकाको अवस्था देख्दा आफू निकै भावुक भएको बताउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत विभिन्न ठाउँमा पुगेर जनताका समस्या र पीडा बुझ्ने क्रममा महावै गाउँपालिकासम्मको यात्रा निकै कठिन र चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। करिब ६–७ घण्टासम्म पैदल यात्रा गर्दै अत्यन्तै कठिन बाटो पार गरेर महावै गाउँपालिका पुगेको उल्लेख गर्दै उहाँले त्यहाँको अवस्थाले आफ्नो मन छोएको बताउनुभयो।

महावै गाउँपालिकामा सडकको सहज पहुँच नहुनु, सञ्चारका लागि टावरको भरपर्दो व्यवस्था नहुनु र खानेपानीको पर्याप्त सुविधा नहुनु दुःखद अवस्था भएको उहाँको भनाइ छ। आधारभूत पूर्वाधारको अभावमा स्थानीय नागरिकले दैनिक जीवनमा अनेकौँ कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो।

“दुर्गम हुनु यहाँका नागरिकको दोष होइन। २०–३० वर्षसम्म पनि राज्यले विकास र सेवासुविधा पुर्‍याउन नसक्नु गम्भीर चिन्ताको विषय हो,” उहाँले भन्नुभयो।

महावै गाउँपालिकाका नागरिकका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु आवश्यक रहेको शाहीले बताउनुभयो। विकासका दृष्टिले पछाडि परेका बस्तीका नागरिकको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

“जनताको दुःख बुझ्न जनताकै घरदैलोमा पुग्नुपर्छ। विकासका दृष्टिले पछाडि परेका यस्ता बस्तीको आवाज अब बुलन्द हुनैपर्छ,” शाहीले भन्नुभयो।

उहाँले महावै गाउँपालिकाका नागरिकका समस्या सम्बन्धित निकायसम्म यथाशीघ्र पुर्‍याउनुपर्ने र तत्काल समाधान गर्न सकिने समस्याहरू छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी आधारभूत सेवासुविधाको व्यवस्था गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उहाँको भनाइ छ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते आइतबार