२०८२ माघ ७ , बुधबार

सहकारी प्रकरण : १० लाख रुपैयाँ धरौटीमा छुटिन् कांग्रेस सांसद राई



प्रतिनिधिसभा सदस्य माया राई

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य माया राईलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा फरार रहेकी सांसद राई दुई साताअघि पक्राउ परेकी थिइन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको थियो। सांसद राई स्वर्णलक्ष्मी सहकारीकी सहसचिव थिइन्। उनी भोजपुरकी समानुपातिक सांसद हुन्।

राई उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्। सरकारी वकिलको कार्यालय काठमाडौंले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितलाई प्रतिवादी बनाएर एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

लामिछानेसँग ६० लाख धरौटी माग गरिएको थियो। त्यति बेला माया राईलाई प्रतिवादी बनाइएको थिएन। राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना समेत भएको थियो। पछि सरकारी वकिलले उनीमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थिए। निर्देशनसँगै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार