
सुर्खेत । सुर्खेतमा मुद्धा मिलाइदिने भन्दै ५० हजार असुली गर्ने दुई जनालाई पक्राउ गरिएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक प्रतिवादीलाई ‘मुद्दा मिलाइदिने’ बहानामा ५० हजार रुपैयाँ असुली गरेको आरोपमा दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका–३ शान्तीबजार घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ४३ वर्षीय कृष्ण बहादुर थारु र वीरेन्द्रनगर–१३ ईन्द्रपुरकी ३४ वर्षीया मुना चन्द रहेको जिल्ला प्रहरी कायालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनकाअनुसार उनीहरूले हिरासतमा रहेका व्यक्तिको परिवारसँग प्रहरी प्रशासन मिलाइदिन्छु, नत्र तपाईँका मान्छे जेल जान सक्छन भन्ने धम्की दिँदै आर्थिक लाभ उठाउने प्रयास गरेका थिए । सोही क्रममा ५० हजार रुपैयाँ वेईमानीपूर्वक असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हाल दुवैलाई नियन्त्रणमा लिई आपराधिक लाभको कसूरमा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।