कर्णाली प्रदेशको सभामुख पदमा नेकपा एमाले नेतृ नन्दा गुरुङ निर्वाचित भएकी छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले गुरुङलाई बहुमतले सभामुख पदमा निर्वाचित गरेको हो।
४० सदस्यीय प्रदेशसभाको बैठकमा उपस्थित ३८ सदस्य मध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए भने सभामुख पदका अर्का उम्मेदवार नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे।
प्रदेशसभा हल भित्रै रहेका कांग्रेसबाट बिद्रोह गरेर जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्र शाहीले भने कसैलाई पनि मत दिएनन्। प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले गुरुङ विजयी भएको घोषणा गरेका थिए ।
नेपालकाे प्रदेश सभामा पहिलो सभामुख बनेर गुरुङले ईतिहास रच्न सफल भएकी छिन। सातै प्रदेशबाट अहिलेसम्म सभामुखमा महिला सभामुख बनेका छैनन्। एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङ महिला मुक्ति आन्दोलनका लागि लामो समयदेखि वकालत गर्दै आएकी थिईन्। विगतमा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि रहिसकेकी गुरुङ एमाले पार्टी भित्र शालीन नेताकाे रुपमा चिनिन्छीन।
निर्वाचन भएपछि आईतबार नै कर्णाली प्रदेश प्रमुख तिलक परियारले सभामुख नन्दा गुरुङलाई शपथ गराएका छन् । प्रदेश प्रमुख परियारले वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका वीच सभामुख गुरुङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, मन्त्री तथा सरकारी उच्च पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । सभामुख गुरुङले आईतबार नै प्रदेशसभा सचिवालयमा पदभार ग्रहण गरेकी छिन् ।