
भारत। उत्तर प्रदेशको भदोही जिल्लामा आइतबार बिहान एक युवकले युवतीसँग विवाह गर्नुपर्ने अडानमा टेलिफोन टावर चढेपछि ठूलो हंगामा मच्चिएको छ । कोतवाली क्षेत्रमा पर्ने सालिमपुर गाउँका याकुबपुर निवासी पवन पाण्डे नामका युवक बिहान करिब ९ बजे टावरमाथि चढेका थिए ।
आफन्तलाई खबर गरेपछि घटनास्थलमा स्थानीयवासी, प्रहरी, दमकल टोली र एम्बुलेन्स पुगेका थिए । केहीबेरमै ठूलो भीड जम्मा भएको थियो । युवक पटक–पटक युवतीसँग विवाह गर्नुपर्ने माग राख्दै करिब तीन घण्टासम्म टावरमै अडिग बसेका थिए । प्रहरी र गाउँलेले निरन्तर सम्झाइ–बुझाइ गरेपछि मात्र उनी तल झरेका हुन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घटनाले गाउँ र वरपरका क्षेत्रमा घण्टौंसम्म त्रासपूर्ण वातावरण सिर्जना भएको थियो । प्रहरी क्षेत्राधिकारी अशोक मिश्राले युवकको एक युवतीप्रति एकतर्फी प्रेम रहेको र विवाह गर्ने चाहनाले यस्तो कदम चालेको बताए । उनका अनुसार ती युवक यसअघि पनि दुई पटक आत्मघाती प्रयास गरिसकेका थिए । हाल प्रहरीको नियन्त्रणमा रहेका उनलाई सोधपुछ भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।