२०८३ जेठ २० , बुधबार

रिपोर्टिङ गरिरहेका पत्रकार थापा बोतल प्रहारबाट घाइते

बसको ठक्करबाट मृत्युपछि वीरेन्द्रनगर तनावग्रस्त


आईतबार अपरान्ह वीरेन्द्रनगरको बसपार्क सामुन्ने बसको ठक्करबाट मृत्यु भएकी बृद्धाका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्दको आव्हानले सोमबार दिनभर वीरेन्द्रनगर तनावग्रस्त बन्यो । जाजरकोट छेडागाड नगरपालिका वडा नं ६ की नदी रावतका आफन्तहरुले विभिन्न माग राख्दै बिहान ५ बजेदेखि वीरेन्द्रनगरको बसपार्क, मंगलगढि, बुल्बुले चोकमा टायर बालेर सडक अबरुद्ध गरेका थिए ।

आईतबार अपरान्ह साढे दुई बजेतिर अन्दाजी ६६ वर्षिया नदीलाई वीरेन्द्रनगरको सिटी बसपार्क अगाडि कर्णाली प्रदेश पंचकोशी प्रा.लि.को बा.४ ख. ८०६१ नम्बरको बसले ठक्कर दिएको थियो । जेब्रा क्रसिङ्बाट बाटो काट्दै गरेकी नदीलाई बसले ठक्कर दिएपछि घाइते भएको बताईएपनि उनको घटनास्थलमै मृत्यु भैसकेको थियो। उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याइएपछि उनको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीले बसलाई नियन्त्रणमा लिएपनि चालक भने फरार रहेका थिए । फरार बस चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ । उक्त बसका चालक दैलेख भैरवी गाउँपालिका वडा नं ५ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने ३३ वर्षीय खगेन्द्रप्रसाद रिजाल रहेका छन् ।

मृतक नदी वीरेन्द्रनगर नगरपालिकाको वडा नं ११ बामे खोलामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार मृतक नदीका एक मात्र छोरा रोजगारीको शिलसिलामा भारतमा छन् । उनका श्रीमानको मृत्यु भइसकेको छ । मृतकका छोरा भारतबाट हिडिसकेको र उनी सोमबार साँझ सुर्खेत पुग्ने मृतकका एक आफन्तले जानकारी दिए। उनका अनुसार छोरा आएपछि थप छलफल गर्नेगरी हाललाई जारी आन्दोलन स्थगित गरिएको छ ।

यसैबीच, आन्दोलनको रिपोर्टिङ गर्न गएका स्थानीय पत्रकार बलबहादुर थापा सोमबार विहान १० बजेतिर बसपार्क तिरबाट हानिएको बोटल लागेर घाइते छन्। उनलाई बस समितिका युवाहरूले काँचको बोतलले टाउकोमा हानेका थिए ।

पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दोलनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए । उनीहरूको आग्रह बेवास्ता गर्दै उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि बस समितिका युवाहरूले उनीमाथि आक्रमण गरेका हुन् ।

स्थानीय प्रशासनले आन्दोलन अनियन्त्रित बन्दै गएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। आन्दोलनकारी अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीलाई थप मद्दतका लागि खटाइएको थियो ।

यसैगरी, सोमवार दिउसो १ बजेतिर आन्दोलनकारीको ढुङ्गा प्रहारबाट एक प्रहरी जवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले जानकारी दिए । मंगलगढी चोकमा दोहोरो भिडन्तपछि आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा उनी घाइते भएका हुन । आन्दोल उग्र बनेपछि प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । मृतक नदीको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार