
देश संघियतामा गएको भएपनि जनताका समस्याहरु ज्यूकात्यु रहेका छन् । संघीय संरचनामा देश गएपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत तोकियो। तर, सुविधा सम्पन्न हुनुपर्ने राजधानी मै अव्यवस्था, अविकासलगायतका विभिन्न समस्याहरु हटेका छैनन्।
राजधानी वीरेन्द्रनगरको त यो हाल छ भने अन्य स्थानीय तहमा भने कति समस्या होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।
सुर्खेतको पूर्वी भागमा रहेको भेरीगंगा नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य उपचारका लागि बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्था लग्नुपर्ने बाध्यता हटेको छैन। विगत लामोसमयदेखि भेरीगंगा नगरपालिका वडा नम्बर १ का विभिन्न ठाउँबाट बिरामीलाई स्टेचमा बोकेरै अस्पताल पुर्याउनु पर्ने बाध्यता अहिलेसम्म पनि अन्त्य हटेको छैन् ।
भौगोलिक रुपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नपाउनुका साथै बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने र ल्याउने गर्दै आएका छन् ।
भेरीगंगा नगरपालिका वडा नम्बर १ को सबै ठाउँमा सडक सञ्जाल नजोडिएको हुँदा विरामीलाई स्टेचर तथा डोकोमा बोकेर स्वास्थ्य संस्थामा पुर्याउने गरिएको स्थानीयबासीहरु बताउछन् ।
एक हप्ता अगाडि भेरीगंगा नगरपालिका वडा नम्बर एकमा एक जना १५ वर्षकी बालिका विरामी भईन् । उनलाई उपचार गर्न वीरेन्द्रनगर ल्याउनु पर्ने भयो । त्यहाबाट वीरेन्द्रनगर ल्याउन करीब ४ घण्टा भन्दा बढी समय लाग्ने गर्दछ । घरदेखि हिडेर वडा नम्बर २ काल्पानीसम्म मात्रै जान करीब २ घण्टाभन्दा बढी समय लाग्ने गर्दछ ।
बिरामीलाई त्यहाँका स्थानीयहरुले भाँचिएको स्टेचरमै बोकेर काल्पानी पुर्याए । जोखिमपूर्ण गोरेटो बाटोमा बिरामीलाई बोकेर हिड्नै मुस्किल हुने गरेको स्थानीयको गुनासो छ । बिरामी तथा अन्य उपभोग्य र निर्माणका सामाग्री समेत ओसार्न समस्या रहेको छ । बाटोमा बिरामी, गर्भवती, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई बढी समस्या हुनुको साथै अन्य नागरिक समेत जोखिम मोलेर आवत जावत गर्नुपर्ने वाध्यतामा रहेका छन्।
सडककै कारण स्थानीयहरुले विद्यालय, स्वास्थ्य, खानेपानी, विद्युत लगायत निर्माण कार्यका समान ओसार्न समेत समस्यामा परेका छन् ।
यसवारेमा बुझ्न खोज्दा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भेरीगंगाको वडा नम्बर १, २ र ३ लाई सडक सञ्जालमा जोड्ने गरी पहल भईरहेको जानकारी दिए। उनले तीन वडालाई सडक सञ्जालसँग जोड्नको लागि आफुले संघ तथा प्रदेशसँग समन्वय गरिरहेको बताए ।
उनले समाचारमा आएकै जस्तो समस्या नभएपनि पुराना लेकपराजुल गाविस विकासको हिसाबले पिछडिएकोले आफु नगर प्रमुखमा निर्वाचित भएपछि केही कामहरु अघि बढाईएको दाबी गरे। कहिकतै स्टेचरको अपुग भए नगरपालिकालाई जानकारी गराईदिन उनले आग्रह गरे ।
वडा नम्बर १ का अध्यक्ष दिनेश पुलामीले आफ्नो वडामा ४० प्रतिशत सडक पुगेको र ६० प्रतिशत सडक पुर्याउने तयारीमा रहेको जनाए। वडा नम्बर १ मा बाँकी सडक सञ्जाल जोड्नको लागि सम्झौता भईसकेको समेत उनले जानकारी दिए।