
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सत्तामा जाने पार्टीहरु जनताको हितमा काम नभई पुजीबाद सञ्चालक समितिको रुपमा काम गर्ने आरोप लगाएका छन् ।
आईतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै सचिव सुवालले ३३ वर्षदेखि नै आफुले यस्तै भोग्दै आएको र पार्टीहरुले जनताको हितमा कुनैपनि काम नगरेको दाबी गरे । नेपालको विजुली सस्तोमा भारतलाई दिएर अहिले महङ्गोमा भारतबाट किन्नुपर्ने बाध्यता रहेको उनले जिकिर गरे ।
सुवालले भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई जेल सजाएको व्यवस्था हुनुुपर्ने पनि माग गरेका छन् । ‘भारत, पाकिस्तान लगायतका देशमा भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत जेल सजाय हुन्छ । हाम्रो देशमा पनि भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई जेल सजाएको व्यवस्था गर्नुपर्छ’’ उनले भने ।
सचिव सुवालले नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, लिम्पियाधुरामा राजनीतिक र प्रशासनिक उपस्थिति गराउने खालको व्यक्तिलाई राष्ट्रपतिका उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।
उनले युक्रेनमा रुसविरुद्ध अमेरिकाको युद्धमा नेपालले अमेरिकाको पक्षमा मतदान गरेको फिर्ता लिने प्रतिवद्धता पनि राष्ट्रपतिका उम्मेदवारबाट आउनु पर्ने आवश्यकता औल्याए ।
सुवालले राष्ट्रपति उम्मेदवारले नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती बन्द गर्ने, नेपाललाई भारतीय सुरक्षा छातामा राख्ने सन् १९५० को असमान सन्धि खारेज गर्ने, भारतले अतिक्रमण गरेका नेपाली भूमि, फिर्ता लिने, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गर्ने प्रतिबद्धता गर्नुपर्ने आवश्यकता भएको औल्याए ।
देशमै रासायनिक मल कारखाना खोले मात्र नेपाली किसानको सेवा हुने र मल खरिदमा कमिसन खाने सरकारहरूले मल कारखाना नखोलेको समेत उल्लेख गरे । पत्रकारसंगको कुराकानीमा उनले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने भन्दै नेपालीको सम्पत्तिको सीमा तोक्नुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने र निजी बैंक राष्टियकरण गर्ने कानुन बनाउनु पर्ने विचार राखे।
नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गरेको तर्क गर्दै सचिव सुवालले ख्वप कलेजहरूमा ७७ जिल्लाका विद्यार्थीले उच्च शिक्षा हासिल गरेको बताए । सुर्खेतका २३, दैलेखका २७, अछामका १९, कालीकोटका ३०, जुम्लाका ६६ जना विद्यार्थी ख्वप इन्जिनियरिङ कलेजबाट दीक्षित भएको तथ्याङ्क पेश गर्दै सचिव सुवालले ख्वप विश्वविद्यालय विधेयक नदिएकोमा सरकारको विरोध गरे ।
उनले बहुदलको ३३ वर्षयता कर्णालीलाई विकासमा पछाडि पारिएको, रैथाने खाद्यान्न, फलफुल उत्पादनमा जोड नदिइएको प्रती रोष प्रकट गर्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्नुपर्ने भनाइ राखे ।
दाल, चामल, तरकारी, खाना पकाउने ग्याससमेत भारतबाट ल्याउनु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि नेपाली युवा विदेश जानुपर्ने स्थितिमा कुनै सुधार गर्न नसकेको जनयुद्ध दिवसको नाममा सार्वजनिक विदा दिनु गलत भएको उनले वताए।
सुवालले एमालेले राष्टपति पदमा माओवादीसँग गठवन्धन नभएपछि मात्रै जनयुद्ध दिवसमा विदा दिइएको विरोध गरेको बताए । पत्रकार भेटघाटमा नेमकिपाका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश संयोजक सरोजराज गोसाई, नेक्राविसंघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहरालगायतको उपस्थिति थियो ।