
काठमाडौं । गाजा क्षेत्रमा उपचारको अभावका कारण हालसम्म ३ सय जनाको मृत्यु भएको छ । युद्धमा घाइते भएका तथा गम्भीर बिरामी परेका करिब १५ हजार जना अझै उपचारको प्रतीक्षामा रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गाजाबाहिर उपचारका लागि ‘मेडिकल इभ्याकुएसन’ (बिरामी स्थानान्तरण) को प्रतीक्षामा रहेका करिब ३ सय जनाको उपचार नपाएर मृत्यु भएको छ ।
बीबीसी फारसीका अनुसार गाजाबाट बाहिर उपचारका लागि जान चाहने बिरामीहरूले विभिन्न सुरक्षा जाँच पार गर्नुपर्ने व्यवस्था छ । यस प्रक्रियामा इजरायलद्वारा गरिने सुरक्षा जाँच पनि समावेश हुने भएकाले धेरै बिरामी लामो समयसम्म प्रतीक्षामा बस्न बाध्य छन् । संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार गाजामा रहेका ६ सयभन्दा बढी स्वास्थ्य संस्थामध्ये हाल करिब ३० वटा मात्रै पूर्ण रूपमा सञ्चालनमा छन् ।
मानवीय सहायता उपलब्ध गराउने संस्थाहरूले इजरायलले अझै पनि औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा प्रतिबन्ध लगाइरहेको आरोप लगाएका छन् । यद्यपि, इजरायलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।