२०८३ मंसिर ९ , मंगलबार

राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सुर्खेत प्रहरीका आठ आग्रह



जगदिश शाही

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लावासी, व्यवसायी तथा सर्वसाधारणलाई सुरक्षा र व्यवस्थापनसम्बन्धी आठबुँदे अनुरोध गरेको छ।

प्रतियोगितामा सहभागी खेलाडी, अतिथि, दर्शक तथा पाहुनाको आवागमन बढ्ने अवस्थालाई ध्यानमा राख्दै प्रहरीले शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न सबैसँग सहयोगको अपिल गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको अनुरोधमा पाहुनाप्रति सभ्य र आतिथ्यपूर्ण व्यवहार गर्न, जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र सवारीसाधन राख्न आग्रह गरिएको छ।

त्यस्तै, घर, पसल तथा होटलमा जडान गरिएका सीसीटीभी क्यामेरा चालु अवस्थामा राख्न र होटल तथा लज व्यवसायीलाई पाहुनाको पहिचान खुल्ने विवरण अनिवार्य रूपमा अभिलेख राख्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला तथा उच्छृङ्खल गतिविधि नगर्न, भीडभाडमा गरगहना, नगद तथा मोबाइलजस्ता व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न पनि सचेत गराएको छ।

त्यसैगरी, कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरिएको छ। कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

शंकास्पद गतिविधिबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी कन्ट्रोल रुमको ९८५८०९०९९० वा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र सफल बनाउन प्रहरी प्रशासनसँगै नागरिक, व्यवसायी तथा सरोकारवाला सबैको सहयोग आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते मंगलबार