दैलेख । दैलेखमा कर्णाली नदीमा फोर्स गाडी खस्दा मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउने व्यक्ति कालीकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवा रहेको दैलेख प्रहरीले जनाएको छ। उनको पहिचान उनका बुबाले सनाखत गरेका हुन्।
बिहीबार चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरामा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि नदीमा खसेको गाडी अझै फेला पर्न सकेको छैन। गाडीको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोर टोली परिचालन गरिएको छ।
महेश्वरी बाहिनीका प्रहरी उपरीक्षक करणसिंह धामीका अनुसार कर्णाली नदीको पानी अत्यधिक धमिलो रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
प्रहरीका अनुसार गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
