२०८३ वैशाख २६ , शनिबार

सुर्खेतमा दुई सामुदायिक अस्पतालको शिलान्यास



मंसिर १२, सुर्खेत
सुर्खेतमा एकैदिन दुई अस्पतालको शिलान्यास गरिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ९, लाटीकोइली र जिल्लाकै बराहताल गाउँपालिका–५, बड्डीचौरमा अस्पतालको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले एक कार्यक्रमका वीच शिलान्यास गरेका छन् ।
सरकारले एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तर्गत बहुबर्षिय टेण्डरका आधारमा ती दुई अस्पतालको शिलान्याससँगै निर्माण कार्य शुरु हुनेछ ।
१८ करोड रुपैयाँको लागतमा बन्न लागेका १५ शैयाका अस्पताल सञ्चालनमा आएपछि नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवाका लागि अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य हुने मन्त्री रावतले वताए ।
उनले जतिसक्दो चाँडो अस्पताल निर्माण सम्पन्न गरेर गुणस्तरीय सेवा प्रवाहका लागि लाग्नु पर्ने वताए । साथै उनले यसमा सबै पक्षको समान जवाफदेहिता रहने औल्याए । १५ शैयाको विशेषज्ञ डाक्टरसहितको सेवा रहने ती अस्पताल दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरि काम अघि बढाउने वताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा बढ्दो जनसंख्यालाई मध्यनजर गर्दे लाटिकोइलीमा बन्न लागेको १५ शैयाको विशेषज्ञ चिकित्सक सहितको अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिन् ।
गम्भीर खालका रोगहरुको विशेषज्ञ उपचार सेवा बाहेक प्रत्येक नागरिकलाई अन्य सम्पूर्ण आधारभूत स्वास्थ्य सेवा स्थानीय स्तरकै अस्पतालबाट पाउने व्यवस्था गर्नका लागि सरकारले एउटा स्थानीय तहमा एउटा अस्पताल अनिवार्य बनाउने योजना अघि सारेको छ । यसका लागि देशभरका स्थानीय निकायमा कम्तीमा एक अस्पताल रहने अवधारणा ल्याईएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर १२ गते शुक्रबार